गण्डकी

पृथ्वीसुब्बाको दाबीः तमुवान् नाम राखे सरकार जोगाइदिने प्रस्ताव आएको थियो

इकागज |
असार ४, २०७८ शुक्रबार १४:५३ बजे

पोखरा : गण्डकी प्रदेशका निर्वतमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशको नाम तमुवान राखे आफ्नो सरकार जोगाइदिने प्रस्ताव आएको दाबी गरेका छन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सदनमा राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल गर्दै उनले यस्तो दाबी गरेका हुन् । 

आफूलाई संसदको एउटा दलले त्यस्तो अफर गरेपनि आफूले नस्वीकारेको उनले बताए । कुन पार्टी हो भन्ने बारे उनले केही खुलाएनन् । ‘यो समिकरण बनाउने बेला धेरै साथीहरुसँग कुरा गर्‍यौँ । एउटा पार्टीले भन्यो प्रदेशको नाम तमुवान् राखिस् भने तेरो सरकार जोगाउँछु भनेर,’ गुरुङको दाबी थियो, ‘मैले मानिनँ । चाहिँदैन, यो बाटोमा हिँड्न सक्दिनँ भनें ।’ 
 
गुरुङले मुख्यमन्त्री पोखरेललाई विश्वासको मत दिन सक्दिनँ भन्न नसक्ने बताए । पोखरेले परिपक्व, शालीन व्यक्तित्व भएकाले उनलाई विश्वासको मत दिन्नँ भन्न नसक्ने गुरुङले बताए । तर पोखरेलले अवसरवादीलाई लिएर सरकार बनाएकाले विश्वासको मत दिन नसक्ने उनको भनाइ थियो । ‘उहाँलाई म विश्वासको मत दिन्नँ भन्न गाह्रो भयो । कृष्णचन्द्रलाई दिनुहोस् भन्नुभएको होइन । मेरो नेतृत्वमा बनेको सरकारलाई भन्नुभएको छ,’ गुरुङले भने, ‘जुन धरातलमा अवसरवादीहरुको गठबन्धन भएको छ, त्यो गठबन्धनलाई एमालेले विश्वासको मत दिन सक्दैन ।’


आफूहरू प्रतिपक्षीमा रहेर रचनात्मक भूमिका निभाउने गुरुङको दाबी छ । सरकारका जुनै काममा पनि विरोध गर्ने प्रतिपक्षी नभई राम्रा कामको तारिफ पनि गर्ने गरी सरकारमा बस्ने उनको दाबी थियो । ‘हामी प्रतिपक्षीमा बस्दा निरपेक्ष रुपमा विरोध गर्नुपर्ने, खण्डन गर्नुपर्ने संस्कार छ, हामी एमाले त्यो बाट मुक्त हुन चाहन्छ,’ गुरुङले बताए । 

प्रदेशको गौरवका योजना, जनताका गौरव माथि उठ्ने काममा एमालेले प्रतिपक्षीमै बसेर पनि समर्थन गर्ने उनले बताए । संघीयताको सबलीकरणमा लागे अहिलेको सरकारमा सहकार्य गर्न एमाले तयार भएको पनि उनले सुनाए ।  ‘प्रदेश सरकारको तहबाट संघीयताको पक्षमा डटेर लाग्छ भने तपाईंहरूलाई एमाले सहयोग गर्न तयार छ । संघीयताको खातिर तपाईंहरुको काम त्यो यात्रामा साँच्चै हिँड्छ भने हामी सहयात्रा गर्न तयार छौं,’ गुरुङले भने । 

गण्डकी प्रदेश सभामा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज विश्वासको मत लिँदैछन् । त्यसअघि विश्वासको मत सम्बन्धी प्रस्तावमा सांसदहरूले छलफल गरिरहेका छन् ।


Author

थप समाचार
x