गण्डकी

'हाइड्रोपोनिक' प्रविधिबाट तरकारी खेती र माछापालन

इकागज |
असार ६, २०७८ आइतबार १३:५० बजे

बागलुङ : तलपट्टि सानो पोखरीमा माछा, माथि तरकारी बाली । खेती गर्न न माटो चाहिने न मल । त्यही पोखरीको पानीले तरकारी सिञ्चित गर्छ फेरि तल खस्छ । विद्युतीय प्रणालीमार्फत यो चक्र पूरा हुन्छ ।

बागलुङ नगरपालिका–३ रात्माटाका अगुवा किसान बैकुण्ठ सापकोटाले यसरी नै ‘हाइड्रोपोनिक’ प्रविधिबाट तरकारी खेती र माछापालन गरिरहेका छन् । सापकोटाले गाउँमा पहिलोपटक यो आधुनिक प्रविधिको सफल परीक्षण गरेका छन् । उनका अनुसार यसलाई ‘माटोविहीन’ खेती पनि भनिन्छ । बिरुवालाई चाहिने सूक्ष्म खाद्यतत्व पानीका माध्यमबाट दिइन्छ । पोखरीको पानीलाई विद्यतुीय मोटरमार्फत तानेर बाली लगाइएको ठाउँमा पुर्‍याइन्छ ।


सापकोटाले चार मिटर लामो र साढे दुई मिटर चौडाइसहितको संरचनामा माछापालन र तरकारी खेती गरेको बताए । 'यो नमूना परीक्षण जस्तो पनि हो, सम्भवतः जिल्लामै यो प्रविधिबाट खेती गरिएको पहिलोपटक हुनुपर्छ', उनले भने ।

पोखरीमा तीन सय माउर माछाका भुरा हुर्किरहेका छन् भने माथिपट्टि प्याज । ‘हाइड्रोपोनिक’ प्रविधिबाट सानो जरा हुने तरकारी बाली मात्र लगाउन सकिने उहाँको भनाइ छ । प्याज, लसुन, धनियाँ, साग जस्ता तरकारी खेती त्यसमा फस्टाउँछ । सापकोटाले तरकारीका बाली लगाउन बाँस, प्लाष्टिक बोतल र गिलास प्रयोग गरे ।

'पोखरीको पानी मोटरले माथि तान्छ, त्यही पानी एकबाट अर्को हुँदै सबै बोतलमा पुग्छ र फेरि पोखरीमा खस्छ', उनले भने ।


Author

थप समाचार
x