गण्डकी

नासोँ पहिरो : अझै पुग्‍न सकेनन् उद्दारकर्मी र सुरक्षाकर्मी

इकागज |
असार ६, २०७८ आइतवार १७:३८ बजे

मनाङ : मनाङको नासों गाउँपालिकाको बाढीपहिराबाट क्षतिग्रस्त क्षेत्रमा अहिलेसम्म सुरक्षा निकाय  पुग्न सकेको छैनन् । यही असार १ गतेदेखि परेको अविरल वर्षाका कारण सो क्षेत्रका स्थानीयवासी  विस्थापित भएका बताइएको छ ।  एक स्थानबाट अर्को स्थानमा जानै नसकिने गरी बाढीपहिराले नासों क्षेत्रलाई कटान गरेपछि सम्बन्ध विच्छेद नै बनाइदिएको छ  । 

नासो–१ ताल गाउँ, ३ धारापानी, ४ ओडार, ५ थोँचे, ६ र ७ तिल्चे र ८ ताचै बाढीपहिराबाट सबैभन्दा धेरै प्रभावित भएको क्षेत्र हो ।  प्रभावित स्थानको केही सुरक्षित स्थानमा बसेका स्थानीयवासीमा विभिन्न समस्या देखापर्न थालेको छ । पहिलो चरणमा नै प्रभावित क्षेत्रमा खाद्यान्न र खानेपानीको समस्या आएको स्थानीय बासिन्दाले बताएका छन् । बाढीपहिराबाट स्थानीय विस्थापित भएको आज ६ दिन बितिसकेको छ ।  जिल्लाका कुनै पनि सुरक्षा निकाय स्थलगत निरीक्षणमा नआएको स्थानीयवासीले गुनासो गरेका छन् । 


वर्षाको शुरुआतमै जिल्लालाई बाढीपहिराले उठीबास लगाएको हो । बाढीपीडित परिवारले बाढीपहिराले वितण्डा मच्चाएको र अबका दिन आफूहरू कहाँ बस्ने, के गर्ने भन्ने विषयमा सोच्न नसकेको बताएका छन् । पीडितले तत्कालका लागि भए तापनि गाँस, बास र कपासका खाँचो भएको रहेको जनाउँदै सहयोगका लागि सरकार र दाताहरूसँग हारगुहार मागिरहेका छन् । सशस्त्र प्रहरी बल नं ३२ गुल्म, नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोली उक्त स्थानमा जाने प्रयास भइरहेको र निरन्तर वर्षाले अबरोध पुर्‍याएको जनाइएको छ । 

जिल्लाको तल्लो भेगमा गत मङ्गलबार मस्र्याङ्दी नदीमा आएको बाढील बस्तीहरू डुबानमा परेको छ । अहिले बस्ती सबै बगरमा परिणत भएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताउनुभयो । जिल्लाको चार स्थानीय तहमध्ये तीन स्थानीय तहमा पूर्णरूपमा क्षति पुगेको छ । 


Author

थप समाचार
x