गण्डकी

प्रदेश सरकारद्वारा प्रहरीलाई सवारी साधन हस्तान्तरण

इकागज |
साउन ८, २०७८ शुक्रवार ७:१७ बजे

कास्की - गण्डकी प्रदेश सरकारले प्रदेश प्रहरी कार्यालय तथा मातहतका कार्यालयहरुका लागि सवारी साधन हस्तान्तरण गरेको छ । सरकारले प्रहरीका लागि अत्यावश्यक चार थान टाटा पिकअप भ्यान र एक थान बस बिहीबार प्रदान गरेको हो ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दिवेश लोहनीलाई गाडीका चाबी हस्तान्तरण गरे । सरकारले उपलब्ध गराएको सवारी साधनबाट प्रभावकारी प्रहरी सेवा प्रवाहमा सहजता प्रदान गर्नुका साथै आम नागरिकमा शान्ति सुरक्षा तथा अमनचैनको प्रत्याभूति दिलाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।


कार्यक्रममा मुख्यमन्त्री नेपालीले प्रहरीलाई चुस्तदुरुस्त, सङ्गठित र सक्षम बनाउन सबलीकरण अपरिहार्य रहेकाले प्रदेश सरकार प्रहरीका समस्या समाधानका लागि दृढ रहेको बताए । उनले भने,  “सरकारको सफलता र असफलताको आधारनै शान्ति सुव्यवस्था र सुशासन हो । सरकार प्रहरीलाई साधन स्रोत सम्पन्न बनाएर सेवा प्रवाह सरल बनाउन प्रतिबद्ध छ ।”

प्रहरी नायब महानिरीक्षक लोहनीले प्रदेश प्रहरी संरचना तथा प्रशासनिक गतिविधि, प्रहरी कार्य तथा शान्ति सुरक्षाको अवस्था, विपद् व्यवस्थापन तथा कोभिड–१९ व्यवस्थापन, अपराध नियन्त्रणलगायतका विषयमा मुख्यमन्त्री नेपालीलाई जानकारी गराएका थिए । उनले प्रदेशभर सात हजार ४९४ दरबन्दी भए पनि पाँच हजार ७०० जना कार्यरत रहेको जानकारी दिँदै प्रहरीको तल्लो तहमा साधन स्रोतको अभाव रहेको उल्लेख गरे । रासस
 


Author

थप समाचार
x