गण्डकी

'देवर सधैँ घरमा आइरहन्थे, मदिराले लठ्ठ भएको बेला के-के भयो-भयो'

इकागज |
साउन ११, २०७८ सोमवार १२:२२ बजे

बागलुङ- 'विगत तीन वर्षदेखि श्रीमान् विदेशमा छन् । देवर सधैँ घरमा आइरहन्थे । मदिराले लठ्ठ भएकाले बेला के-के भयो के के', आफ्नै पेटमा हुर्किरहेको चार महिनाको गर्भपतन गरी टालोमा बेरेर घर छेउको बारीमा गाडेपछि उनले जेठानीसँग भनेकी थिइन् 'लुकाउन पर्ने भएकाले लुकाएकी हुँ ।'

बागलुङको जैमिनी नगरपालिका-१० राङ्खानीकी २६ वर्षीया महिलाले गर्भपतन गराएर गाडेको बच्चाको विषयमा खोजी भयो । प्रहरीले सोधपुछ गर्ने क्रममा बाबुको विषयमा बताएपछि उनले जेठानीसँग भनेकोजस्तै आफ्नै देवर नाता लाग्ने व्यक्ति पक्राउ परे । देवर भाउजूको अवैध सम्बन्धबाट गर्भ रहेकाले समाजमा मुख देखाउन कठिन हुने भन्दै उनले गर्भपतन गराएर गाडेको अनुमान प्रहरीको छ । 


'दुई पटकसम्म शारीरिक सम्बन्ध भएको हो, बाँकी के-के भयो थाहा भएन', प्रहरीसँगको बयानमा पक्राउ परेका देवरले भनेका छन्, 'सहमतिकै कुरा हो, जबर्जस्ती गरेको होइन ।' यही प्रमाणका आधारमा प्रहरीले भ्रूण हत्या गरिएको आरोपमा जैमिनी-१० राङ्खानीकी ती महिला र उनको देवर नाता पर्ने ३१ वर्षीय पुरुषविरुद्ध मुद्दा दर्ता गरेको छ । यही साउन ३ गते ती महिलाको घरदेखि केही पर भ्रूण हत्या गरेर गाडेको भेटिएको थियो । उनीहरु दुवैविरुद्धमा भ्रूण हत्याको मुद्दा दर्ता भएको छ ।

पुरुषजस्तो देखिने भ्रूणलाई रातो टालोमा बेरेर माटोमुनि गाडिएको अवस्थामा फेला पारिएको प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरले बताए । 'दुवैले कमजोरी स्वीकार गरेकाले मुद्दा दर्ता भएको छ', पल्लीमगरले भने, 'अनुसन्धान बाँकी छ, हामी प्रक्रियामै छौँ ।' पक्राउ परेका दुवैलाई म्याद थप गरी थुनामा राखिएको छ । पक्राउ परेकामध्ये भाउजूका पाँच वर्षकी छोरी र तीन वर्षका छोरा छन् । देवरका १२ र दुई वर्षका दुई छोरी छन् । दुवै जना विवाहित हुँदाहुँदै अवैध सम्बन्ध राखेकै कारण घटना भएको पल्लीमगर बताउँछन् ।

'लामो समय श्रीमान् विदेशमा रहेकाले देवर नाता पर्ने भाउजूको घरमा आउजाउका कारण नाजायज सम्बन्ध रहेको पाइयो', पल्लीमगरले भने । उनीहरुको सम्बन्धको विषयमा पहिलेदेखिनै शङ्का गरेका परिवारका सदस्य र गाउँलेले पछ्याउँदा उनले अवैध गर्भपतन गरेर गाडेको अवस्थामा फेला परेको थियो । रासस


Author

थप समाचार
x