गण्डकी

तनहुँमा साउन ३२ गतेसम्म लम्बियो निषेधाज्ञा

इकागज |
साउन २१, २०७८ बिहीबार ५:५४ बजे

फाइल फोटो

दमौली : तनहुँमा साउन मसान्तसम्म निषेधाज्ञा थपिएको छ । कोभिड १९ को जोखिम कायमै रहेकाले निषेधाज्ञाको अवधि साउन ३२ गतेसम्म थपिएको हो । 

छिमेकी जिल्लामा नयाँ डेल्टा भेरियन्ट देखा परेकाले समुदायमा व्यापक फैलिनसक्ने अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञाको अवधि लम्ब्याइएको हो । जिल्ला कोभिड व्यवस्थापन समितिको मङ्गलबार बसेको बैठकले कोभिड–१९ को जोखिम अझै कायम रहेकोले निषेधाज्ञाको अवधि बढाइएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिए ।  


यदि कोही कसैले उक्त आदेशको उल्लङ्घन भएमा कोभिड–१९ सङ्कट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८ तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारवाही हुनेछ । 

कोभिड–१९ सङ्कट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी यसअघि जारी गरिएको निषेधाज्ञालाई जिल्लाभर निरन्तरता दिइएको हो ।  

स्वास्थ्य र सुरक्षा मापदण्ड पूरा गरेर एम्बुलेन्स, ग्यास पेट्रोलियम पदार्थ, खानेपानी, औषधि तथा उपचार सामग्री, स्वास्थ्य संस्था, अस्पताल, भेटेरिनरी औषधि पसल, दूरसञ्चार, इन्टरनेट, फोहरमैला व्यवस्थापन, मल, बीउ र कृषि सामग्री दुग्ध व्यवसाय, बैंकको एटिएम सेवा, कुरियर, डाँक सेवा र सार्वजनिक निर्माणसम्बन्धी कार्य र सेवा तथा ढुवानी सेवा निर्वाधरुपमा सञ्चालन हुनेछन् ।  

त्यसैगरी बन्द गरिएका सेवा तथा व्यवसायबाहेक अन्य सबै सेवा र व्यवसाय बिहान ५ बजेदेखि दिउँसो ४ बजेसम्म खोल्न दिने निर्णय भएको छ । साथै स्वास्थ्य र सुरक्षाको पर्याप्त प्रबन्ध गरेर होटलमा ५० प्रतिशत श्यया क्षमतासम्म पाहुना राख्न पाउने छन् । रासस
 


Author

थप समाचार
x