गण्डकी

प्रधानमन्‍त्री देउवासहित अर्थ र शिक्षामन्‍त्री आज पोखरा जाँदै

इकागज |
असोज २४, २०७८ आइतबार ७:१० बजे

फाइल फाेटाे

काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवा आज (आइतबार) पोखरा जाने भएका छन् । गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्ने समारोहमा प्रधानमन्त्री देउवासहित अर्थमन्त्री जनार्दन शर्मा, शिक्षामन्त्री देवेन्द्र पौडेल पोखरा जान लागेका हुन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रधानमन्त्री देउवालाई सरकारी निवास बालुवाटारमै भेटेर निमन्त्रणा पत्रसहित निम्तो दिएका थिए । 

गण्डकी प्रदेश सरकारले आफ्नो प्रदेशलाई आज साक्षर घोषणा गर्न लागेको हो । ३० भदौमा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले सबै जिल्ला साक्षर घोषणा भइसकेकोले साक्षर गण्डकी अवधारणापत्र स्वीकृत गरी साक्षर प्रदेश घोषणा गर्ने निर्णय गरेको थियो ।  प्राप्त तथ्यांकअनुसार नवलपुरमा सबैभन्दा बढी ९८ प्रतिशत नागरिक साक्षर छन् । सबैभन्दा कम लमजुङमा ९५.५ प्रतिशतमात्रै नागरिक साक्षर भएको तथ्यांक छ ।


यस्तै मुस्ताङ ९६.३५, स्याङ्जा ९६.१६, कास्की ९६, तनहुँ ९६.४, बागलुङ ९६.५७, मनाङ ९६.९, गोरखा ९७.२, म्याग्दी ९६.२७ र पर्वत ९६.९३ प्रतिशत नागरिक साक्षर भइसकेको शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयले जनाएको छ । जिल्लागत रूपमा सबै जिल्ला साक्षर घोषणा भइसकेका छन् ।

मुस्ताङलाई सबैभन्दा पहिलो साक्षर जिल्ला घोषणा गरिएको हो । ३१ असार ०७१ मा मुस्ताङ साक्षर जिल्ला घोषित भएको हो भने सबैभन्दा अन्तिममा पर्वतलाई  १८ माघ ०७४ मा साक्षर जिल्ला घोषणा गरिएको हो । लक्षित समूहका ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर भए साक्षर जिल्ला घोषणा गर्न मिल्ने प्रचलन छ । अघिल्लो नीति तथा कार्यक्रममा २ वर्षभित्र प्रदेशलाई साक्षर घोषणा गर्ने बताइएको थियो ।


Author

थप समाचार
x