गण्डकी

गाउँपालिकाले तोक्यो सार्वजनिक बसको भाडा

इकागज |
कात्तिक २३, २०७८ मंगलबार १०:१६ बजे

फाइल तस्बिर

कास्की- माछापुच्छ्रे गाउँपालिकाले गाउँपालिकाभित्रका विभिन्न मार्गमा सञ्चालन हुने सार्वजनिक बसको भाडादर तोकेको छ । बसको भाडा र सञ्चालन तालिकाको सम्बन्धमा पटक-पटक गुनासा आउने गरेको र एकै प्रकारको भाडादर कायम नभएकाले पृथ्वी राजमार्ग बस सञ्चालन कम्पनी प्रालिसहित सरोकार पदाधिकारीकोे छलफलबाट भाडादर कायम गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रालिद्वारा पोखराको हरिचोकबाट गाउँपालिकाको खोराको मुख लुम्‍ने मार्गमा सञ्चालन हुने बसको अधिकतम भाडा रु ११० कायम गरिएको गाउँपालिकाका प्रवक्ता पूर्णबहादुर शाहीले बताए । उनका अनुसारसोही मार्गअन्तर्गत पर्ने अन्य स्थानको भाडा पनि समायोजन गरिनेछ ।


यातायात व्यवस्था विभागले गत असार २९ गतेदेखि लागू हुने गरी अन्तरप्रदेश मार्गमा २८ प्रतिशतसम्म भाडा वृद्धि गरेपछि गाउँपालिकाभित्रका बसले पनि भाडा वृद्धि गरेको थियो । गण्डकी प्रदेशको प्रदेश सवारी तथा यातायात ऐनबमोजिम समितिले भाडा समायोजन नगरेसम्मका लागि अहिले तोकिएको भाडादर लागू हुने बताइएको छ ।

यसैगरी पोखराबाट टुसे ग्राउण्ड मार्गमा पृथ्वी राजमार्ग बस कम्पनीबाट सञ्चालन हुने बसको भाडादर रु १०० कायम गरिएको र सोहीअनुसार उक्त मार्गको अन्य स्थानको भाडासमेत समायोजन गरिएको गाउँपालिकाले जनाएको छ । 'भाडादर कायम नहुँदा बसका कर्मचारी र यात्रुबीच विवाद हुने गरेको थियो । अहिले गाउँपालिकाभित्रका मुख्य मार्गको अधिकतम भाडा तोकेका छौँ,' प्रवक्ता शाहीले भने, 'छलफलका आधारमा पुनः यसलाई परिमार्जित गर्दै सबै वडाको भाडा तय गर्नेछौँ ।'

यसैगरी आगामी मङ्सिर १ देखि विभिन्न विद्यालय र क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई लक्ष्य गरी बिहान ५:०० बजेदेखि गाउँपालिकाबाट बस सञ्चालन गरिने भएको छ । विभिन्न विद्यार्थी सङ्गठनले गाउँपालिकाबाट बिहानको समयमा बस सञ्चालन नहुँदा विद्यार्थीले पोखरामा कोठाभाडामा लिएर बस्नुपर्ने अवस्था आएकाले घरबाटै क्याम्पस जानका लागि बसको व्यवस्था गर्न माग गरेका थिए । 

गाउँपालिकाबाट पोखराका विभिन्न विद्यालय र विश्वविद्यालयमा बिहानी तथा दिवासत्रका विद्यार्थीलाई मध्यनजर गरी मङ्सिर १ गतेदेखि वडा नं १ को टुसे ग्राउण्डबाट घाचोक हुँदै पोखरा, वडा नं ५ को हाइड्रोबाट रिभान, लाहाचोक हुँदै पोखरा र वडा नं ८ को लुम्रे र अन्य वडाबाट विद्यार्थी सङ्ख्याका आधारमा बिहान ५:०० बजेदेखि पोखरासम्म बस सञ्चालन हुने प्रवक्ता शाहीले जानकारी दिए। गाउँपालिकाभित्र सञ्चालन हुने सार्वजनिक बसले सरकारले तोकेको ४५ प्रतिशत विद्यार्थी छुट परिचयपत्रका आधारमा उपलब्ध गराउन बस कम्पनी सहमत भएका छन् । रासस


Author

थप समाचार
x