गण्डकी

तालिममाथि तालिम, उपलब्धि शून्य

राजकुमार आले |
पुस २, २०७८ शुक्रवार ११:१४ बजे

तनहुँ– स्थानीय सरकारमार्फत् बरोजगार घटाउन र आत्मनिर्भर बनाउन अनेकन सीपमूलक तालिमहरु सञ्चालन भए । उत्साहजनक रुपमा तालिम हुने तर उपलब्धि भने शून्य हुने गरेको भन्दै तालिमविरुद्ध आवाज उठ्न थालेका छन् ।

यसैबीच जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ को वडास्तरीय महिला सञ्जालले वडामार्फत् भएका विभिन्न चरणका तालिममा सहभागीहरु महिला र सरोकारवालाहरुबीच विहीबार अन्तरक्रिया भएको छ । महिलाहरुलाई तालिमपश्चात् व्यवसायउन्मुख हुन जिम्मेवार बनाउने र सरोकारवालाहरुलाई पनि सहभागीहरुको पीर–मर्का र गुनासो बुझेर समाधानको बाटो पहिल्याउने उद्देश्यले अन्तरक्रिया गरिएको हो । तालिममा सहभागीहरु महिलाहरुले हाँसिल गरेको सफलता, उद्यमी बन्न नसक्नुका कारण, बजारको अवस्था लगायतका विषयमा  अन्तरक्रिया भएको थियो । 


गत आर्थिक बर्ष २०७६/०७७ को महिलालक्षित कार्यक्रमअन्र्तगत अचार बनाउने, सिलाई कटिङ्, झोला बुन्ने तथा च्याउ खेती लगायतका सीपमूलक तालिममा सहभागीहरु महिलाहरु अन्तरक्रियामा उपस्थित थिए ।

सो क्रममा सहभागी महिलाहरुले आधारभूत तालिमपछि एड्भान्स तालिम नहुनु, बाहिरबाट आयातित बस्तुसँग प्रतिस्पर्धा गर्न नसक्नु, बजार व्यवस्थापनमा समस्या हुनु, प्रविधिको सुविधा असुविधा, कोरोनाको डर, पारिवारिक समस्या लगायत विविध कारणले उद्यमी बन्न नसकेको बताएका थिए ।

कार्यक्रममा महिलाहरुको जिज्ञासा र गुनासोको जवाफ दिदै गण्डकी प्रदेश सांसद तथा पूर्वमन्त्री आशा कोइरालाले आफुहरुलाई रुचि भएको तालिम छनौट गरेर व्यवसायिक बन्ने लक्ष्य लिनुपर्ने बताइन् । उनले तालिमका लागि मात्र तालिम लिएर नहुने भन्दै जुन विषयको तालिम लिएको हो त्यही विषयमा व्यवसायिक बन्नुपर्नेमा जोड दिइन् ।

‘जुन कुरामा रुचि छ, त्यही मात्र तालिम लिनुहोस्, व्यवसायिक बन्नतिर लाग्नुहोस्, एउटै मान्छेले पटक पटक तालिम लिने तर काम केही नगर्ने हो भने तालिमको कुनै अर्थ हुँदैन’ उनले भनिन्, ‘तालिम लिएर मात्र राज्यलाई सहयोग हुँदैन, सिकेको सीपलाई कार्यान्वन गरेर आम्दानी गरौँ । राज्यलाई आत्मनिर्भर हुन सहयोग पुर्‍याऔ ।’
सांसद कोइरालाले आधारभुत तालिमपछि पनि सीप तथा क्षमता बढाउन आवश्यक भए एड्भान्स तालिम माग गर्न सुझाव दिदै आवश्यक सहयोग गर्न आफू तयार रहेको बताइन् । तालिम लिनेले पनि सक्रियता देखाउनु पर्ने र तालिम दिने प्रशिक्षकले पनि बजार व्यवस्थापनमा सहयोग गर्नुपर्ने उनको भनाई थियो । 

वडाध्यक्ष दीर्घबहादुर थापाले आत्मनिर्भर तालिमका लागि वडाले गरेका लगानी अनुसार प्रतिफल नआउँदा तालिम उत्साजनक हुन नसकेको बताए । ‘तालिम लिएपछि सहभागी सवैबाट धेरथोर केही न केही परिणाम प्राप्त हुनुपर्छ तर अधिकांशले प्रमाणपत्रका लागि मात्र तालिम लिएको जस्तो देखिएका छ’ उनले भने, ‘समय दिन सक्ने र केही गर्छु भन्ने आँट भएकाले मात्र तालिम लिनुपर्छ । कुनै पनि बाहना बनाएर पन्छिन पाइँदैन ।’

वडास्तरीय महिला सञ्जालकी अध्यक्ष मंगला रानाले अन्तरक्रियापश्चात् अचार बनाउन जागुरुक विष्णु शाहीको समूहलाई अनुदान स्वरुप २५ हजार रुपैयाँ उपलब्ध गराइएको जानकारी दिइन् । अध्यक्ष रानाका अनुसार उक्त रकमले आलु चिप्स बनाउने मेसिन, अचारको डब्बा सिल प्याक गर्ने लगायतका सामाग्री खरिद गर्नुपर्ने छ । अनुदान रकमको सही सदुपयोग भए/नभएकाबारे नियमित अनुगमन र निगरानी हुने उनले बताइन् ।
 


Author

थप समाचार
x