लुम्बिनी

विमला वली प्रकरण

छानबिन समितिकाे प्रतिवेदन : राज्यमन्त्री वलीको कमजोरी देखियो

इकागज |
असार १८, २०७९ शनिबार १९:३५ बजे

बुटवल- लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्रीबाट राजीनामा दिएकी विमला वली प्रकरणमा छानबिन गर्न बनेको समितिले लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीलाई छानबिनको प्रतिवेदन बुझाएको छ । छानबिन समितिको संयोजक आन्तरिक मामिला तथा सञ्‍चार मन्त्री तिलकराम शर्माले मुख्यमन्त्री कार्यालय पुगेर प्रतिवेदन मुख्यमन्त्रीलाई बुझाएका हुन् ।

गत जेठ ३१ गते राज्यमन्त्री वलीले उनको प्रेमी भनिएका दाङ तुलसीपुरका वाईसीएल कार्यकर्ता एकराज बस्नेतको घरमा पुगेर बस्नेत पत्नी र छोरीमाथि हातपात गरेको घटना सार्वजनिक भएपछि प्रदेश सरकारले घटनाको सत्यतथ्य पत्ता लगाउन शर्मा संयोजक रहेको ३ सदस्‍यीय छानबिन समिति गठन गरेको थियो । समितिमा कानुन, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्ती र प्रदेशका मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी सदस्य रहेका थिए ।


छानबिन प्रतिवेदन बुझाउँदै समितिका संयोजक तथा आन्तरिक मामिला तथा सञ्‍चार मन्त्री शर्माले समितिले राज्यमन्त्री अनाधिकृत रूपमा अरूको घरमा जानु कमजोरी भएको ठहर गरेको जानकारी दिए । उनले राज्यमन्त्रीको पदको हैसियतले व्यक्तिगत पैसा उठाउन कसैको घरमा पुग्‍नु गलत भएको समितिले ठहर गरेको मन्त्री शर्माले बताए । मन्त्री शर्माले एकराज र मन्त्री वलीबीच लेनदेन बाँकी रहेको पुष्टि गर्दै लेनदेनकै लागि एकराजको घरमा पुग्‍नु गलत भएको उनले जिकिर छ ।

प्रतिवेदन बुझ्दै मुख्यमन्त्री केसीले प्रारम्भिक रूपमा राज्यमन्त्रीबाट कमजोरी भएको देखिएको उल्लेख गरे । प्रतिवेदनको अध्ययनपछि मात्र सरकार र पार्टीले आवश्यक कदम चाल्ने बताउँदै कमजोरी भएको विषयलाई संरक्षण नगरिने उनकाे भनाइ छ । राज्यमन्त्रीले गल्ती गर्दागर्दै पनि उनलाई फसाउन पूर्व तयारी साथ योजना बनाइएको पनि मुख्यमन्त्री केसीले आशंका गरे । उनले समयसीमा भित्रै प्रतिवेदन तयार गरेकोमा समितिलाई धन्यवाद समेत व्यक्त गरे ।

गत जेठ ३१ गते राज्यमन्त्री वली दाङ तुलसिपुरस्थित एकराज बस्नेत नभएको अवस्थामा राज्यमन्त्री वलीले एकराजको घरमा प्रवेश गरी उनकी पत्नी मिना बस्नेत र नाबालिका छोरीमाथि हातपात गरेको भन्दै स्थानीयले मन्त्री वलीलाई एकराजकै घरमा थुनेका थिए । स्थानीयले कालोमोसो लगाउने तयारी गरेको सूचना पाएपछि प्रहरीले उद्धार गरी राज्यमन्त्री वलीलाई बुटवल पुर्‍याएको थियो । छानबिन समितिको प्रतिवेदन आउनु अघि राज्यमन्त्रीले राजीनामा दिएको र मुख्यमन्त्रीले स्वीकृत पनि गरिसकेको भनिएपनि राजीनामाका विषयमा वलीले सार्वजनिक प्रतिक्रिया दिएकी छैनन् ।

नेकपा एमालेबाट निर्वाचित श्रीमान् उत्तरकुमार ओलीको निधन भएपछि बिमलाले तत्कालीन नेकपाबाट दाङको ३ को (ख) बाट उपनिर्वाचनबाट निर्वाचन जितेकी थिइन् । २०७७ साल फागुन २३ गते सर्वोच्चले नेकपा खारेज गरेपछि वैशाख १९ मा उनले माओवादी केन्द्र रोजेकी थिइन् ।


Author

थप समाचार
x