लुम्बिनी

लुम्बिनीमा कर्मचारीलाई निकालेर छोरा, ज्वाँइ र सालालाई नियुक्ति दिएपछि ...

इकागज |
साउन २५, २०७९ बुधवार १९:४७ बजे

फाइल फोटो

भैरहवा - बुद्ध जन्मस्थल लुम्बिनीमा निर्वाचित जनप्रतिनिधि र कर्मचारीबीच तालमेल नमिल्दा यसको परिणाम सेवाग्राहीले भोग्नु परेको छ । स्थानीय तह निर्वाचनपछि लुम्बिनी सांस्कृतिक नगरपालिकाका पुराना कर्मचारी निष्काशन र नयाँ नियुक्तिले कार्यालय पुनः विवादित बनेको छ । हुनतः रुपन्देहीका अन्य पालिकामा पनि कर्मचारी निष्काशनको विवाद नभएको होइन तर लुम्बिनीमा प्रमुख प्रशासकीय अधिकृत नै यसमा लागेपछि कार्यालयका सबै शाखाका कर्मचारी भयभीत बनेका छन् । 

नगरपालिका प्रमुख सजरुद्दिन मुसलमान र प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र पाण्डेयको निर्णयले साउनदेखि कार्यालय पूर्णत चल्न सकेको छैन । करारका कर्मचारीहरुलाई बिना कुनै कारण निकाल्ने, कामै गर्न नसक्ने अदक्ष आफन्तलाई विभिन्न पदमा स्वार्थका नियुक्ति दिएपछि नगरपालिकाका काम प्रभावित हुन पुगेको उपप्रमुख कल्पना हरिजनले बताइन् । 


नगरपालिका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले गोप्य रुपमा टिप्पणी उठाएर यही साउन १ गतेदेखि करारमा रहेका ९ जना कर्मचारीलाई बर्खास्त गरी १३ जना नयाँ कर्मचारी भर्ना गरेका छन् । नयाँ कर्मचारीलाई भर्ना गर्ने निर्णय गरेपछि बिदामा बसेका प्रमुख प्रशासकीय अधिकृत पाण्डेयले निर्णय कार्यान्वयनका लागि निमित्त प्रमुख रचना गौतम पाण्डेय क्षेत्रीलाई निर्देशन गरेका थिए । निमित्त प्रमुख रचना पाण्डेयले कानुन सम्बत नभएको भने पछि र प्रमुख प्रशासकीय अधिकृतले भने अनुसार नगरेको कारण उनलाई पनि वडा सचिवमा सरुवा गरेका छन् । 

कार्यपालिकामा निर्णय  नै नगरी फर्जी निर्णय गराई कर्मचारी हटाउने तथा नयाँ कर्मचारी भर्ना गर्ने विषयमा आफूहरुले विरोध जनाउँदै आएको उपप्रमुख हरिजनले पत्रकार सम्मेलन गरी जानकारी दिइन् ।

यति मात्र होइन वडा अध्यक्ष र विद्यालयलाई जानकारी नै नगराई सरुवा पत्र आएपछि नगरपालिकाको वडा नम्बर ९ मा रहेको जग्गा १६ कठ्ठा १० धुर विद्यालयको नाममा सिफारिस गर्न लागेको, स्वास्थ्यका प्राविधिक कर्मचारीलाई वडा सचिवमा सरुवा गरेको, नगर प्रमुखको छोरालाई अहेब र ज्वाँइलाई सहायक सब इन्जिनियर त्यस्तै आफ्नै नातामा सालो पर्नेलाई कम्प्युटर अपरेटरको पदमा नियुक्ति दिएको उपाध्यक्ष हरिजनले आरोप लगाइन् । 

'हाम्रो माग सबै कुरा कार्यपालिका बोर्डमा आएर प्रस्ताव पेस भएर जानु पर्छ । प्रक्रियागत रुपमा दक्ष कर्मचारी नियुक्त हुनु पर्छ, पु्राना कर्मचारीलाई बिना कारण बिना स्पष्टीकरण निकाल्न नमिल्ने उनले बताइन् । नयाँ नियुक्तिमा मेरो आपत्ति छैन तर कम्प्युटर खोल्न नजान्नेलाई कम्प्युटर अपरेटर पदमा नियुक्त गरेर नगरपालिकाको विकास कसरी होला' उनले प्रश्न गरिन् । 

साउन १ गतेदेखि बिदामा बसेका प्रमुख प्रशासकीय अधिकृतको साउन १५ मा सरुवा पत्र आएको र अहिले पनि हाजिर नभई रातिमा कार्यालय खोलेर गलत निर्णय एकलौटी रुपमा गर्दै आएको आरोप लागेको छ । साउन २० गते नै अधिकृत स्तरका कर्मचारीलाई आफू अनुकूल काम नगरेको भन्दै वडा सचिवमा सरुवा पठाएका छन् । छलफल भइसकेका विभिन्न जिम्मेवार शाखाका सिलिङ बजेटलाई नै रातो किताबमा छाप्नु पहिलै नै घटाएर आफू अनुकूल शीर्षकमा ल्याएको उपाध्यक्ष तथा कर्मचारीहरुको आरोप छ । 

नगरपालिकाले पुराना सेवा करारका ९ जना कर्मचारीलाई बिना जानकारी सेवाबाट हटाएर आफ्ना परिवार र आफन्तसहित ११ जनालाई नियुक्ति दिलाएका छन्। 

कार्यपालिका बैठकको निर्णय बिना कर्मचारीलाई हटाएर मेयर र कार्यकारीले गलत गरेको उनको आरोप छ । नगरपालिकाका सूचना अधिकारी अशोक पाण्डेयले कर्मचारीलाई काम गर्न नगरपालिकामा अप्ठ्यारो महसुस भइरहेको बताए । 'हामीलाई काम गर्न सहज वातावरण नभएपछि हामी सबै शाखाका कर्मचारीहरुले पनि ध्यानाकर्षण गराएका छौ' उनले भने ।
 
वडामा सचिव नभएका कारण काम प्रभावित नहोस् भन्नका लागि सरुवा गरेको प्रमुख प्रशासकीय अधिकृत पाण्डेले प्रतिक्रिया दिए । 'भएकै जनशक्तिबाटै व्यवस्थापन गर्नका लागि यो निर्णय गरेको हो, यो आवश्यकता अनुसार भएको छ, कुनै प्रतिशोधले होइन', उनले भने । विवादका विषयमा प्रतिक्रिया लिन खोज्दा नगर प्रमुख सजरुद्दिन मुसलमान बोल्न चाहेनन् । 

जनप्रतिनिधि र कर्मचारीको कारण अहिले नगरमा विवाद सिर्जना हुँदा यसको प्रत्यक्ष मारमा नगरवासीमा परेको छ । 


Author

थप समाचार
x