लुम्बिनी

नेपालगञ्जमा रामलीला मञ्चनको तयारी

इकागज |
असोज ९, २०७९ आइतवार ९:१६ बजे

फाइल तस्बिर

नेपालगञ्ज- कोरोना महामारीका कारण दुई वर्ष रोकिएको ऐतिहासिक रामलीला मञ्चन यस वर्ष नेपालगञ्जमा धुमधामका साथ गरिने भएको छ ।

नेपालगञ्जको रामलीला मैदानमा एक सय ५२ वर्षदेखि निरन्तर प्रत्येक वर्ष हुँदै आएको रामलीला मञ्चनको एक सय ५३ र एक सय ५४औँ वर्ष प्रवेशको कार्यक्रम कोरोना महामारीका कारण सार्वजनिकरूपमा स्थगन गरिएको थियो ।


विजयादशमीका अवसरमा मञ्चन हुने नेपालगञ्जको ऐतिहासिक तथा सांस्कृतिक महत्वको रामलीला मञ्चनलाई यस वर्ष भव्यताका साथ गर्ने तयारी भएको रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनोडियाले जानकारी दिए ।

उनका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–९ स्थित रामलीला मैदानमा हरेक वर्ष घटस्थापनादेखि विजयादशमीसम्म ऐतिहासिक तथा सांस्कृतिक महत्वको रामलीला भव्यरूपमा मनाउने गरिन्छ । रामलीलामा भारत तथा नेपालका कलाकारहरूले मञ्चन गर्ने गरेका छन् ।

यस वर्ष रामलीलाको एक सय ५५औँ जयन्ती समारोहमा वृन्दावन धामका ख्यातिप्राप्त राधारमण शर्मा महाराजद्वारा सङ्गीतमय आधुनिक साजसज्जाका साथ लीलाको प्रदर्शन गराइने भएको छ ।

यस क्षेत्रको परिचय बनेको रामलीला मञ्चनले नेपाल तथा भारतमा नेपालगञ्जलाई चिनाएको रामलीला सञ्चालक समितिका अध्यक्ष कनोडियाको भनाइ छ ।  

रामायणमा आधारित लीला प्रत्येक दिन राति ८ बजेदेखि रामको राज्याभिषेक गरुञ्जेलसम्म जारी रहन्छ । सन् १९२५ देखि नेपालगञ्जको रामलीला मैदान र टण्डन राइस मिलमा मञ्चन हुँदै आएको यो कला नेपालीभन्दा बढी सीमावर्ती भारतीयहरूबीच लोकप्रिय छ ।

भारतको उत्तरप्रदेशबाट समेत हजारौँ श्रद्धालुहरू रामलीला दर्शनका लागि आउने गरेको रामलीला सञ्चालक समिति सदस्य एवं नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष नन्दलाल वैश्यले उल्लेख गरे । रासस


Author

थप समाचार
x