लुम्बिनी

कोभिड संक्रमण

लुम्बिनीमा बेड छैन : सक्ने हेलिकप्टरमा, नसक्ने अस्पतालको पेटीमा

बिक्रम खड्का |
बैशाख ९, २०७८ बिहीबार १८:४२ बजे

बुटवल : पछिल्लो समय कोभिड-१९ संक्रमण  फैलिएसँगै अस्पतालका आइसियूहरू पनि भरिएका छन्। लुम्बिनी प्रदेशका चारवटै कोरोना अस्पतालमा अहिले नयाँ विरामीको लागि बेड पाउन सक्ने अवस्था छैन । रुपन्देही र आसपासमा कोभिड-१९ संक्रमण बढेसँगै चैत्रको तेस्रो साताबाट बुटवलको धागो कारखानामा रहेको कोभिड-१९ विशेष अस्पतालमा रहेको आइसियू कक्षमा विरामीहरू बढ्न थाले। मंगलबार अस्पतालका आइसियूका सबै १३ बेड भरिए।

अघिल्लो दिनदेखि अस्पतालमा नयाँ विरामी राख्ने अवस्था नभएको लुम्बिनी प्रादेशिक अस्पतालका बुटवलका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए । ‘अहिले १३ वटा बेड छ। सबै प्याक छ। नयाँ बिरामी आए भने राख्ने ठाउँ नै छैन।’ उनले भने ‘दैनिक ८/१० जना बेड नपाएर  रिफर हुनुभएको छ।’
 
बुटललमा बेड भरिदै गएपछि विरामीहरूलाई रिफर गरेर भैरहवामा पठाइएको थियो।  भैरहवाको भीम अस्पतालमा ५ बेडको आइसियू कक्ष छ । २२ बेडको एचडियू कक्ष छ । बुटवलबाट रिफर भएका गम्भीर बिरामी आइसियूमा र अन्य कतिपयलाई एचडियूमा भर्ना गरिएको थियो।


भैरहवाका आइसियू र एचडियूका बेड पनि बुधबार साँझ भरिएको भीम अस्पतालका कोरोना फोकल पर्सन डा. आरिफ हुसेनले बताए। ‘धेरै जना बुटवलबाटै रिफर भएर आउनुभएको छ। अहिले आइसियू र एचडियू सबै भरियो।’ उनले भने ‘आज बिहानबाट ५ जनालाई फर्काइसकेका छौ, बिरामी राख्ने ठाउँ नै छैन।’
 
बुटवल र भैरहवामा दुबैतिर बेड नपाएपछि कतिपयले हेलिकप्टर चार्टर गरेर बिरामी काठमाडौँ पुर्‍याएका छन्। आर्थिक अवस्था कम्जोर भएका बिरामीहरू अलपत्रछन् । गुल्मीका एक संक्रमितका आफन्तले भने, 'लुम्‍बिनी अस्पतालले बेड छैन भनेर निकालिदियो, भैरहवामा छ भनेर बिरामी लिएर जाँदा बेड छैन भनेपछि पेटीमा राखेका छौं । अब गरिबले बाच्न नपाउने अवस्था भयो ।'

 ती बिरामी अहिले सिँढीमा अक्सिजन दिएर राखिएको छ । उता बाँकेको कोहलपुरमा रहेको भेरी अस्पतालमा पनि आइसियू र एचडियूमा गरेर ३० जना छन्। त्यसबाहेक सामान्य बेडसहित कुल १ सय ४२ बेड रहेको छ। कोरोना संक्रमितले सबै बेड भरिएको भेरी अस्पतालका मेडिकल सुपरिटण्ट डा. प्रकास थापाले बताए। ‘एक हप्ता जति सबै भरिएको छ । ’

भेरी अस्पताल संक्रमितले भरिएपछि नयाँ बिरामीलाई निकै समस्या परेको छ। ‘आउने सोध्ने क्रम चलिरहेको छ। बेड नभएपछि अवस्था गाह्रो भएको छ।’ डा.थापाले भने ‘कसै–कसैले आफ्नो हिसाबले हेलिकप्टर चार्टर गरेर काठमाण्डौ लैजानुभएको छ। सबैले त्यो सक्नुभएको छैन।’
  
उता दाङको बेलझुण्डी कोरोना अस्पतालमा बुधबार साँझ सम्म २८ वटा बेडमा  बिरामी रहेका छन्। संक्रमित भरिएर भयावह अवस्था आउँदा पनि प्रदेश सरकारको भूमिका देखिएको छैन।  सरकार ढाल्ने र बनाउने खेल चलिरहेकोले अस्पताल वढाउने विषयमा कसैलाई चासो नभएको नागरिक अगुवा पदम कार्कीले बताए ।


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x