लुम्बिनी

पूर्वाधारविनै मन्त्रालय दाङ नसार्न कर्मचारी संगठनको माग, जबरजस्ती गरे आन्दोलन गर्ने चेतावनी

विक्रम खड्का |
मंसिर १४, २०७९ बुधबार १३:२५ बजे

बुटवल - लुम्बिनी प्रदेश सरकारले पूर्वाधार नबन्दै बुटवलमा रहेका मन्त्रालयहरू दाङ लैजान लागेको भन्दै विभिन्न कर्मचारी संगठनहरू आन्दोलित भएका छन् । कर्मचारी संगठनहरूले प्रदेश सरकारका प्रमुख सचिव डा. दीपक काफ्लेलाई ज्ञापनपत्र बुझाउँदै हतारमा मन्त्रालयहरू दाङ लैजाने सरकारको निर्णय स्थगित गर्न माग गरेका हुन् । 

उनीहरूले जबरजस्ती मन्त्रालयहरू दाङ लैजान खोजे चरणवद्ध आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् । भर्खरै सम्पन्न आम निर्वाचनले नयाँ जनादेश दिइसकेको अवस्थामा काम चलाउ सरकारले हतारमा मन्त्रालय सार्ने निर्णय गर्नु आपत्तिजनक रहेको कर्मचारी संगठनहरूको भनाइ छ । 


भालुबाङ क्षेत्रमा मन्त्रालयहरू रहने र सेवा प्रवाह गर्ने भवन, कर्मचारी आवास, शैक्षिक र स्वास्थ्य संस्थाको अभाव रहेको भन्दै कर्मचारी संगठनहरूले स्थायी पूर्वाधार नबनेसम्म काम गर्न जान नसक्ने बताएका छन् ।

नेपाल निजामती कर्मचारी संगठन लुम्बिनी प्रदेश अध्यक्ष खगराज उपाध्याय, नेपाल निजामती कर्मचारी युनियन प्रदेश अध्यक्ष मदन गौतम, राष्ट्रिय कर्मचारी संगठन (निजामती) का सदस्य नारायण भट्टराई र निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन रुपन्देही हरिप्रसाद खनालले हस्ताक्षर गरेको संयुक्त ज्ञापनपत्रमा सरकारको निर्णयले कर्मचारीको मनोबल गिराउने कानम गरेको उल्लेख छ ।

प्रदेश सभाले २०७७ असोज २० गते स्थायी राजधानीबारे निर्णय गर्दा कर्मचारीहरूका लागि आवासको उचित व्यवस्था गरेपछि मात्र निर्णय कार्यान्वयन हुने उल्लेख रहेकोमा त्यस विपरित हतारमा कर्मचारीलाई पठाउनु गलत भएको नेपाल निजामती कर्मचारी युनियन प्रदेश अध्यक्ष मदन गौतमले बताए ।

नेपाल निजामती कर्मचारी संगठन लुम्बिनी प्रदेश अध्यक्ष खगराज उपाध्यायले स्थायी राजधानीको निर्णय गरेको २ वर्षसम्म अस्थायी प्रदेश सभा सचिवालय भवन समेत तयार नभएको अवस्थामा पूर्वाधार नबनिकनै मन्त्रालयहरू सार्न खोज्नु गैरजिम्मेवार काम भएको बताए ।

प्रदेश सरकार मातहत दुई हजार ७ सय बढी कर्मचारी कार्यरत छन् । ज्ञापनपत्र बुझेपछि प्रमुख सचिव डा. काफ्लेले पूर्वाधार बनेपछि मात्रै स्थायी राजधानीबाट मन्त्रालयका काम सुरु गर्नुपर्छ भन्ने कर्मचारी संगठनहरूको माग जायज रहेको र यसबारे आफूले सरकारमा कुरा राख्ने बताए ।
 


Author

विक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x