लुम्बिनी

लुम्बिनी प्रदेशको काम कारबाही आजदेखि देउखुरीबाट

इकागज |
मंसिर २८, २०७९ बुधबार १५:४३ बजे

बुटवल - अस्थायी मुकाम बुटवलवाट संचालनमा रहेको लुम्बिनी प्रदेशको काम कारबाही बुधबारदेखि दाङको देउखुरीबाट सञ्चालनमा आएको छ ।

प्रदेश सरकारले लुम्बिनी प्रदेशको स्थायी राजधानी बुधबारदेखि कार्यान्वयनमा ल्याएको हो । राजधानी कार्यान्वयनमा आएसँगै अब देउखुरीबाटै सरकारी कामकाज सञ्चालनमा आउने मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।


दाङको देउखुरीमा तयार भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा झण्डोत्तलन कार्यक्रम भएको छ । लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले झण्डोत्तलन गरेसँगै मुख्यमन्त्री कार्यालय औपचारिक रूपमा सञ्चालनमा आएको हो ।

दुई वर्षअघि २०७७ असोज २० गते लुम्बिनी प्रदेशसभाले दाङको देउखुरीलाई स्थायी राजधानी बनाउने प्रस्ताव पारित गरेको थियो । राजधानी घोषणा भएको दुई वर्षसम्म पनि आस्थायी मुकाम बुटवलबाट कामकाज भइरहेको थियो । 

देउखुरीको लालमटीयामा रहेको राप्ती प्राविधिक शिक्षालयलाई अर्को ठाउँमा सारेर शिक्षालय परिसरमा राजधानीका संरचना तयार गरिएको छ । 

यहाँ मुख्यमन्त्री कार्यालय, प्रदेशसभा भवन र मन्त्रालय लगायतका संरचना बनाइएका छन् । लुम्बिनी प्रदेशको स्थायी राजधानी तोकिएको दाङको देउखुरीलाई अहिले सिँगारिएको छ ।


Author

थप समाचार
x