लुम्बिनी

विद्यालयमा पूर्वाधार र शैक्षिक वातावरणको अभाव

इकागज |
पुस १, २०७९ शुक्रवार १२:५२ बजे

रुपन्देही- सिद्धार्थनगर नगरपालिका–११ मा रहेको भुजौली आधारभूत विद्यालयमा शैक्षिक वातावरण, स्वच्छ पिउनेपानी र र भौतिक पूर्वाधारको अभाव रहेको छ । पानीको प्यास लागे विद्यालयको हाता बाहिर रहेको वडा कार्यालयमा जानुपर्ने बाध्यता रहेको विद्यालय प्रशासनले जनाएको छ । 

विसं २०१८ मा स्थापना भएको यस विद्यालयको भवनमा पिपलका रुख उम्रिनुका साथै जिर्ण अवस्थामा रहेको छ । स्थानीय दिलीप प्रजापतिले भने, “पिल्लर बिनाको ८० वर्ष पुरानो विद्यालय भवन भत्किने होकि भन्ने ठूलो चिन्ता छ ।”


दश कट्ठा क्षेत्रफलमा फैलिएको यस विद्यालयमा कक्षा कोठाको समेत अभाव छ । जीर्ण भवनमा जम्मा चार कोठा छन् । त्यसैमा विद्यार्थी र शिक्षकका लागि व्यवस्थापन गरेको विद्यालयका प्रध्यानाध्यापक अयोध्याप्रसाद गौड बताउनुहुन्छ । कक्षा कोठाका झ्यालका ढोका भाँचिएको अवस्थामा छन् । झयालमा जाली छैनन् । शौचालयमा पानी र ढोकासमेत छैन ।

विद्यालयमा ९० छात्रा र ६० छात्र गरी जम्मा १५० विद्यार्थीले पठनपाठन गर्ने गर्दछन् । चार शिक्षकको दरबन्दी रहेको विद्यालयमा विद्यार्थीका लागि आधारभूत आवश्यकतासमेत नरहेको गुनासो छ । विद्यालयमा पठनपाठन गर्न आउने विद्यार्थी अधिकांश न्यून वर्गका रहेका छन् । 

यस क्षेत्रका जनप्रतिनिधिसमेत स्कुलको अवस्थाको बारेमा जानकार भए पनि वास्ता नगरेको स्थानीय मो. नसिम खानले बताए । 
 


Author

थप समाचार
x