लुम्बिनी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीले आज सपथ ग्रहण गर्दै

इकागज |
पुस २८, २०७९ बिहीबार ६:५८ बजे

फाइल तस्बिर

बुटवल - नवनियुक्त लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज पद तथा गोपनीयताको सपथग्रहण गर्दैछन् । बुधबार मुख्यमन्त्री नियक्ति भएका गिरीलाई आज प्रदेश प्रमुख अमिक शेरचनले शपथग्रहण गराउने कार्यक्रम छ ।

प्रदेश राजधानी दाङ देउखुरीस्थित मुखयमन्त्री कार्यालयमा दिउँसो १ बजे सपथग्रहणको कार्यक्रम तय गरिएको हो । एमाले प्रदेश संसदीय दलका नेता गिरी बुधबार नेपालको संविधानको धारा १६८ (२) बमोजिम लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए ।


उनलाई नेकपा माओवादी केन्द्र, राप्रपा, जसपा, जनमत, नागरिक उन्मुक्ती, लोसपा र स्वतन्त्रबाट निर्वाचित ५८ सांसदको समर्थन छ । सपथग्रहणपछि सानो आकारको मन्त्रिपरिषद गठन गर्ने मुख्यमन्त्री गिरीको तयारी छ ।

लुम्बिनी प्रदेशमा बढीमा ११ सदस्यीय मन्त्रिपरिषद बनाउने एमाले र माओवादी केन्द्रबीच समझदारी छ । अघिल्लो मन्त्रिपरिषद् १७ सदस्यीय रहेकोमा यसलाई घटाएर ११ बनाउन लागिएको छ ।

यद्यपि ९ सदस्यीयमा झार्ने तयारी गरिएको भए पनि सत्तारूढ सबै दललाई भाग पुर्याउनका लागि मन्त्रिपरिषद् ११ सदस्यीय बनाउन लागिएको हो । लुम्बिनी प्रदेशसभामा १० राजनीतिक दल रहेकोमा नेपाली काँग्रेस, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादी बाहेकका दलहरूको समर्थन गिरीले पाएका छन् ।


Author

थप समाचार
x