लुम्बिनी

जसपा सरकारमा, एमाले मन्त्रीलाई जगेडामा राखियो

एक महिनामै लुम्बिनीका मुख्यमन्त्री गिरीले बढाए मन्त्रालयको संख्या

इकागज |
फागुन ८, २०७९ सोमबार १३:१७ बजे

बुटवल - लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले मन्त्रालयको संख्या १० भन्दा नबढ्ने दाबी गरेको एक महिनाभित्रै मन्त्रालयको संख्या बढेको छ । मुख्यमन्त्रीलाई विश्वासको मत दिएको जनता समाजवादी पार्टी सरकारमा सहभागी भएसँगै मन्त्रालयको संख्या १० बाट बढेर ११ पुगेको हो ।

जसपा संसदीय दलका नेता भण्डारीलाल अहिरलाई कृषि तथा भूमि सुधार मन्त्रीमा नियुक्त गरेसँगै मन्त्रालयको संख्या बढेको हो । सरकारको सिफारिसमा लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले जसपा दलका नेता अहिरलाई मन्त्री नियुक्त गरेका हुन् ।


जसपालाई सरकारमा मनाउन सरकारको नेतृत्व गरेको नेकपा एमालेले एक साताअघि मन्त्री बनेका कृषिमन्त्री तुल्सीराम शर्मालाई मुख्यमन्त्री कार्यालयमा लगेर जसपाका अहिरलाई मन्त्री बनाइएको हो ।

एक साताअघि कृषि मन्त्री बनाइएका एमालेका तुलसीराम शर्मालाई मुख्यमन्त्री कार्यालय हेर्नेगरी राखिएको सरकारका प्रवक्ता चेतनारायण आचार्यले बताए । उनले भने, 'पहिला १० वटा मन्त्रालय बनाउनेगरी सहमति भएको थियो तर अहिले मन्त्री नबनाई नहुने अवस्था आयो । एउटा मन्त्रालय बढ्ने देखिन्छ ।'

यसअघि लुम्बिनी प्रदेशमा १२ वटा मन्त्रालय थिए । एमाले नेतृत्वको लुम्बिनी प्रदेश सरकारले मन्त्रालय घटाएर चर्चा पाए पनि एक महिनाभित्रै मन्त्रालय फेरि बढाएपछि आलोचना हुन थालेको छ । 

लुम्बिनी प्रदेशका ११ मन्त्रालयमध्ये एमालेका मुख्यमन्त्रीसहित पाँच, माओवादीका तीन, जनमत पार्टीका एक, राप्रपाका एक र जसपाका एक जना मन्त्री छन् । मुख्यमन्त्रीलाई विश्वासको मत दिएको नागरिक उन्मुक्ति र लोसपा सरकारका जाने विषय पनि चर्चामा रहेको छ ।


Author

थप समाचार
x