लुम्बिनी

तिलोत्तमा गोल्डकपको उद्‌घाटन‍ आज

इकागज |
चैत ४, २०७९ शनिबार ११:२२ बजे

बुटवल- रुपन्देहीकै प्रतिष्ठित तिलोत्तमा गोल्डकप प्रतियोगिता २०७९ शनिबार उदघाटन हुँदैछ । २२ औँ संस्करणको उद्घाटन कार्यक्रमको लागि देबिनगरस्थित एन्फा एकेडेमी खेल मैदान सजाइएको छ । उद्घाटन खेलमा आयोजक रुपन्देही–११ र सुदुरपश्चिमाञ्चल फुटबल संघबीच प्रतिस्पर्धा हुने भएको हो ।

प्रतियोगिताको सबै तयारी पूरा भएको आयोजक संस्था रुपन्देही जिल्ला फुटबल संघले जनाएको छ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व, रुपन्देही जिल्ला फुटबल संघ रुपन्देहीको आयोजना, यशोदा फुड्स प्रालि, त्रिमुर्ति ईण्डष्ट्रिज प्रालीको मुख्य प्रायोजनमा दुई विभागीयसहित ८ टिमले उपाधिका लागि खेल्नेछन् ।


प्रतियोगिताको विजेता टिमले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार पाउने छन् । गोल्डकपको उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ । सर्वोत्कृष्ट खेलाडीले नगद एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल, विधागत रुपमा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचले जनही ३० हजारका दरले नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रत्येक खेलमा म्यान अफ द म्याचलाई पनि ११ हजार १ सय ११ रुपैयाँ पुरस्कृत गरिने छ । प्रतियोगितामा करेन्ट रुपन्देही –११ सहित मनाङ मर्स्याङ्‌दी क्लब काठमाडौँ, थ्री स्टार क्लब ललितपुर, नेपाल पुलिस क्लब काठमाडौँ, एपिएफ क्लब काठमाडौँ, हिमालयन शेर्पा क्लब काठमाडौँ, फ्रेन्ड्स क्लब काठमाडौँ र सुदुरपश्चिम ११ गरी आठ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

कार्यक्रममा एन्फाका केन्द्रीय उपाध्यक्ष दीर्घबहादुर केसीले कोभिड संक्रमण र राजनीतिक अस्थिरताकै कारण प्रतियोगितालाई निरन्तरता दिन नसकिएको बताए । स्थानीय सरकारबाट ३५ लाख रुपैयाँ तथा प्रदेश सरकारबाट समेत सहयोग प्राप्त भएको हुँदा प्रतियोगिता आयोजना गर्न सहजता आएको उनले दाबी गरे । गोल्डकपको फाइनल प्रतिस्पर्धा चैत ११ गते हुनेछ । २१ औं संस्करणको उपाधि क्यामरुनको दाउफिन्स क्लबले जितेको थियो ।


Author

थप समाचार
x