लुम्बिनी

महामारीमा स्थानीय सरकारको प्रयास : घर-घरमै अक्सिजन

विक्रम खड्का |
बैशाख २७, २०७८ सोमबार १०:४० बजे

बुटवल : कोभिड-१९ महामारी संक्रमणको दोस्रो लहरसँगै बुटवल उपमहानगरपालिकाले जनताको घरदैलोमै सेवा प्रदान गर्ने अभियान चालेको छ । उपमहानगरले अक्सिजन बैंकको स्थापना गरी संक्रमितहरुको घर घरमै सेवा पुर्याउने तथा चिकित्सकीय परामर्शसहित औषधिहरु उपलब्ध गराउने काम भइरहेको प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी गराए ।

महामारी नियन्त्रणका लागि संघीय सरकार, प्रदेश सरकार र निजी क्षेत्रसहित यहाँका सामाजिक संघ संस्थाहरुसँगको सहकार्यमा उपमहानगरले अभियान जारी राखेको उनले बताए । यसैगरी कोभिड संक्रमित भएका र आइसोलेशनमा बसेकाहरुलाई प्राथमिक उपचारमा सहयोग पुर्याउने तथा अस्पतालसम्म लैजान सहज बनाउने उद्देश्यले निःशुल्क एम्बुलेन्स सेवा समेत प्रदान गरिएको प्रवक्ता रेग्मीले जानकारी गराए ।


अक्सिजन बैंकबाट आइसोलेशनमा रहेकाहरुलाई सेवा

उपमहानगरपालिकाभित्र होम आइसोलेसन, होटल आइसोलेसन र सामुदायिक आइसोलेसनमा रहेका कोभिड संक्रमितहरुलाई लक्षित गरी उपमहानगरले अक्सिजन बैंक सञ्चालन गरेको छ । निश्चित मापदण्डका आधारमा अक्सिजन आवश्यक पर्नेहरुलाई आपतकालिन रुपमा २४ सै घण्टा सेवा प्रदान गरिने उपमहानगरले जनाएको छ ।

बैंकमार्फत हालसम्म २ सय ७० जना बढी संक्रमितहरुले घरमै बसेर सेवा लिएका छन् । अहिले पनि २ सय १० ले सेवा लिइरहेको उपमहानगरले जनाएको छ । पाँचजना स्वास्थ्यकर्मीहरुसहितको ४ वटा समूह निर्माण गरी संक्रमितहरुको घरदैलोमै सेवा प्रदान गर्ने गरिएको छ । अक्सिजन बैंकले स्थापना भएको ५ दिनको अवधिमा दैनिक ५० देखि ६० जना संक्रमितहरुलाई घरमै भेटेर सेवा प्रदान गर्ने गरेको छ ।

लायन्स क्लब अफ बुटवल क्षेत्र ४ ले सिलिण्डरहरु रिफिल गर्नुका साथै बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले प्रदान गरेको ३५ वटा सिलिण्डरबाट अक्सिजन बैंकको सुरुवात गरिएको थियो ।

बैंक सञ्चालनका लागि रुपन्देही उद्योग संघ, औषधि व्यवसायी संघ, बुटवल उद्योग बाणिज्य संघ र गौतमबुद्ध सामुदायिक मुटु हस्पिटलले सहकार्य गरेका छन् । अक्सिजन बैकंमा हाल ठूला र साना गरेर करिब एक सय ५० वटा मात्र अक्सिजन सिलिण्डर रहेको प्रवक्ता रेग्मीले जानकारी दिए ।

आइसोलेसन निर्माण तथा घरदैलोमै आयुर्वेद औषधि

बुटवल उपमहानगरले कोभिड संक्रमणको दोस्रो लहरसँगै आइसोलेशन सेन्टर निर्माणलाई पनि प्राथमिकतामा राखेको प्रवक्ता रेग्मीले बताए । उपमहानगरले हाल बुटवल ११ देवीनगरमा अवस्थित एन्फा एकेडेमीमा ४० जना क्षमताको आइसोलेशन सेन्टर स्थापना गरी सञ्चालन गरिरहेको छ भने थप क्षमता विकासका लागि  समेत तयारी अवस्थामा रहेको बताएको छ ।

उपमहानगरमा थप आइसोलेशन आवश्यक परेको अवस्थामा बुटवल ११ र बुटवल–१३ नवनिर्मित वडा भवनलाई आइसोलेशनका रुपमा प्रयोग गर्न मिल्ने गरी तयारी अवस्थामा राखिएको उनले बताए । 

यसैगरी उपमहानगरले संक्रमितको घरदैलोमै भिटामिन सी, भिटामिन बी कम्प्लेक्स, जिकं, पेन्टाप्राजोल, सिटामोल, गिलोये चुर्ण, अमला चुर्णसहितका आयुर्वेद औषधि वितरण गरेको छ । यसैक्रममा दोस्रो लहर सुरु भएयता बुटवलका विभिन्न वडाहरुमा घरदैलोमा पुगेर एक हजार बढीलाई निःशुल्क आयुर्वेद औषधि वितरण गरिएको स्वास्थ्य शाखाले जनाएको छ ।

निःशुल्क पीसीआर परीक्षण

उपमहानगरले १९ वटै वडाहरुमा संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा रहेका नजिकका व्यक्तिहरुको निःशुल्क पीसीआर परीक्षण गर्ने गरेको छ । यस्तै कतिपय लक्षण देखिएका संक्रमितहरुको घरमै पुगेर स्वाब परीक्षण गर्ने गरिएको उपहानगरका स्वास्थ्य शाखा प्रतिनिधिले बताए । 

हालसम्म दोस्रो लहर सुरु भएयता एक हजार ५५ जनाको निःशुल्क स्वाब परीक्षण गरिएको तथ्याङ्कमा उल्लेख छ । यसैगरी उपमहानगरको स्वास्थ्य शाखा र वडामा आउने सूचनाका आधारमा निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने गरिएको प्रवक्ता रेग्मीले बताए ।
 


Author

विक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x