लुम्बिनी

होम आइसोलेसनमा बसेका संक्रमितको घर-घरमा औषधि पुर्‍याउँदै मेयर

इकागज |
बैशाख ३०, २०७८ बिहीबार १८:१८ बजे

बुटवल : नवलपरासीको रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्रकुमार गुप्ताले कोभिड-१९ संक्रमित भइ होम आइसोलेसनमा बसेका संक्रमितहरूको घर घरमा  पुगेर औषधि  वितरण गरेका छन्  । नगरपालिकाले होमआइसोलेसनमा रहेका नगरपालिका भित्रका सबै बिरामीहरूलाई स्वास्थ्यकर्मीहरूमार्फत घरमै गई परामर्श दिने र औषधिसहित स्वास्थ्य सामाग्री बितरण गर्ने कामको वडा न. ४  बाट थालनी गरेका हुन् ।
  
होम आइसोलेसनमा बसेकाहरूलाई आवश्यक पर्ने प्राथमिक औषधि (सिटामोल, जिकं चक्की, भिटामिट सी, भिटामिन बी-१२, जीवनजल आदि)सहित मास्क र जनचेतना मुलक प्रचार सामाग्री लिएर नगर प्रमुख गुप्ता आफै संक्रमितको घर घरमा पुगेका हुन् । 

नगर भित्र होम आइसोलेसनमा बसेका सबै संक्रमितहरूलाई  आवश्यक पर्ने न्युनतम  औषधि र स्वास्थ्य सामाग्री वितरण गरिने योजना रहेको प्रमुख गुप्ताले बताए  । 
नगरप्रमुख गुप्तासहित स्वास्थ्यकर्मीको टोलीले  संक्रमित सबैको घर घरमा पुगेर बिरामीको स्वास्थ्य अवस्था बारे जानकारी लिदै आवश्यक औषधि र स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो। 


नगरपालिकाले होम होमआइसोलेसनमा बसेका संक्रमितहरूलाई आवश्यकताअनुसार टेलिफोनबाट स्वास्थ्यकर्मीमार्फत परामर्श दिनेगरी संक्रमितलाई सेवा प्रवाह गर्ने  व्यस्था समेत मिलाइएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत राजेश पन्थीले बताए ।  यसअगावै  रामग्राम नगरपालिका–४ जितपुरस्थित पाल्ही बहुमुखी क्यापसको भवनमा  नगरपालिकाले अक्‍सिजनसहितको २० शय्‍याको आइसोलेसन सेन्टर सञ्चालनमा आएपछि कोभिड बिरामीले सेवा लिदै आएका छन् ।


Author

थप समाचार
x