लुम्बिनी

सिद्धबाबा सुरुडमार्गका लागि टेण्डर आह्वान

विक्रम खड्का |
जेठ ९, २०७८ आइतबार ९:४६ बजे

फाइल फोटो

बुटवल : बुटवल-तानसेन सडक अन्तर्गतको 'मृत्युमार्ग’को उपमा पाएको सिद्धबाबा क्षेत्रमा सुरुङमार्गका लागि टेण्डर भएको छ । सडक विभागले आइतबार सुरुङ खन्नका लागि ग्लोबल टेन्डर आह्वान गरेको हो ।

४५ दिनको समय दिएर सुरुङमार्गको टेन्डर आह्वान भएको सडक विभागले जानकारी दिएको छ । टेन्डरका लागि ४५ दिनको समय रहेको छ । लामो समयदेखि यो योजना चर्चामा थियो । हरेक पटकको निर्वाचनमा यो आयोजना मुख्य मुद्दा बन्ने गरेको छ ।


विभागका अनुसार स्वीस टिमले गरेको डिजाइनका आधारमा टेन्डर आह्वान भएको हो । जसमा १ किलोमिटर १२६ मिटरको सुरुङ हुनेछ । सुरुङमार्गको सुरु हुनुभन्दा अगाडि र पछाडि ३ हजार ५ सय मिटरको रकनेट जाली रहन्छ । 

सुरुङमार्ग ५ वर्षभित्र बनाइसक्नुपर्नेछ । सुरुङमार्गको लागि अर्थमन्त्रालयले १० अर्ब रुपैयाँको बजेट सीमा दिएको छ । त्यही सीमाभित्र रहेर सुरुङमार्ग बन्नेछ ।  सिद्धबाबामा खसिरहने पहिरोबाट हुुने जनधनको क्षति रोक्न यो आयोजना महत्वपूर्ण हो । तर त्यहाको भौगोलिक अवस्थाको अध्ययनले सुरुङमार्गको सम्भावनालाई पनि पुर्ण सफल मानेको छैन ।

यो सडक खण्ड प्रयोग गरेर गुल्मी, पाल्पा अर्घाखाँची, स्याङ्जा, पोखरा, बाग्लुङ, हुँदै बेनीसम्म गाडी चल्ने गर्छन् । हिउँदो होस या वर्षायाम जुनुसकै बेला झर्ने चट्टान सहितको पहिरो खस्दा यात्रुले अकालमै ज्यान गुमाउनु परिरहेको छ ।

रुपन्देहीको चिडियाखोलादेखि पाल्पाको दोभानसम्मको क्षेत्र अत्यन्तै जोखिमपूर्ण छ । दैनिक ५ हजारभन्दा बढी सवारी साधान यो सडकबाट आवत जावत गर्छन । गत चुनावमा पनि पार्टीका उम्मेद्वारहरुले यसलाई मुख्य मुद्दा बनाएर भोट मागेका थिए । 

यसपटक पनि चुनावी नारामा सिमित हुन नहुने स्थानीय बासिन्दाको भनाइ छ । बुटवलका व्यवसायी हरि अर्याल सुरुङमार्ग प्रचारमा सिमित हुन नहुने बताउछन् । 'तत्कालै निर्माण कार्य शुभारम्भ होस, हामी साबिक लुम्बिनी, गण्डकी र धौलागिरी बासीले सुरक्षित आवतजावत गर्न पाऔँ । तर यसपटक पनि प्रचारमा सिमित नहोस्' उनले भने ।
 


Author

विक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x