लुम्बिनी

बर्दियामा हात्तीको आक्रमणबाट आमा छोरीको मृत्यु

इकागज |
जेठ ११, २०७८ मंगलबार ११:२० बजे

फाइल फोटो

बुटवल : बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको जंगली हात्तीको आक्रमणबाट आमा छोरीको ज्यान गएको छ । निकुञ्जभित्रबाट गाउँ पसेको जंगली हात्तीको आक्रमणबाट सोमबार राती गेरुवा गाउँपालिका १ सरखुल खपतपुरकी ३७ वर्षीया चन्द्रा विश्वकर्माको घटनास्थलमै र तीन वर्षीया छोरी दीपिकाको उपचारका क्रममा ज्यान गएको निकुञ्जका सहायक संरक्षण अधिकृत अशिम थापाले जानकारी दिए ।

गर्मीले गर्दा घरबाहिर आँगनमा सुतिरहेका बेला चन्द्रा र उनकी तीन वर्षीया छोरी दीपिकालाई सोमबार राति झण्डै १० बजेतिर जंगली हात्तीले आक्रमण गरेको निकुञ्जले जनाएको छ ।


हात्तीको आक्रमणबाट चन्द्राको घटनास्थलमा ज्यान गएको हो भने मृतक चन्द्राकी छोरी दीपिका गम्भीर घाइते भएपछि उपचारका लागि नेपालगन्ज शिक्षण अस्पताल कोहलपुर लगिएकोमा मंगलबार बिहान उपचारका क्रममै ज्यान गएको निकुञ्जका सहायक संरक्षण अधिकृत थापाले बताए ।

बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु श्रेष्ठ सहितको टोली मंगलबार बिहान घटनास्थलतर्फ पुगेको छ । हात्तीको आक्रमणबाट ज्यान गएसंगै गेरुवा गाउँपालिकाबासी आक्रोशित बनेका छन् । 


Author

थप समाचार
x