लुम्बिनी

लुम्बिनीमा बजेटको तयारी, कोभिड र पूर्वाधार प्राथमिकता

इकागज |
जेठ ३१, २०७८ सोमवार ११:९ बजे

फाइल तस्‍बिर

बुटवल : नीति कार्यक्रम पारित भएसँगै लुम्बिनी प्रदेश सरकार बजेट प्रस्तुत गर्ने तयारीमा जुटेको छ । बजेट निर्माणको तयारी चलिरहेको आर्थिक मामिला मन्त्री वैजनाथ चौधरीले जानकारी दिए। सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ मा कोभिड नियन्त्रणलाई केन्द्रमा राखेर बजेट ल्याउने उनको भनाइ छ । सरकारले ३८ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । चालु आर्थिक वर्षका लागि ३६ अर्ब ३५ करोड बराबरको बजेट ल्याएको थियो।

मंगलबार प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री चौधरीले बजेट प्रस्तुत गर्ने छन् । कोभिड नियन्त्रण, उपचार र स्वास्थ्य पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरिएको मन्त्री चौधरीको भनाइ छ । 


गत वर्षको भन्दा बजेटको आकार केही मात्रामा वृद्धि हुने भन्दै  मन्त्री चौधरीले नयाँ योजनाभन्दा पनि पूराना अधुरा योजनालाई पूरा गर्ने गरी बजेट आउने बताए ।बजेटमा कोभिड नियन्त्रणका लागि उपचार, परीक्षण, जनशक्ति  व्यवस्थापनमा विशेष रूपमा सम्बोधन गर्ने गरी बजेट छुट्याइएको छ। 

मन्त्रालयका अधिकारीहरूका अनुसार कृषिमा नयाँ योजना छन् भने कोभिड कारण विदेशबाट फर्किएका बेरोजगार युवाहरूलाई तुरुन्तै जागिर दिने गरी सिपयुक्त तालिमका लागि नया कार्यक्रम राखिएको छ ।

प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७७/०७८ को बजेटमा समेत स्वास्थ्य, कृषिलाई नै प्राथमिकतामा राखेर बजेट ल्याएको थियो। रोजगारी प्रवद्र्धन गर्ने जस्ता कार्यक्रम कार्यान्वयन हुन सकेका छैनन्। 

लुम्बिनीमा विपक्षी गठबन्धनले सरकारसँग बहुमत नभएको भन्दै नीति तथा कार्यक्रम र बजेट ल्याउन नसक्ने बताउँदै आएका थिए। तर, प्रदेश सरकारले ल्याएको आगामी वर्षको नीति तथा कार्यक्रम आइतबार पारित भएको छ। पारित भएसँगै सरकारलाई बजेट ल्याउन बाटो खुलेको हो।


Author

थप समाचार
x