लुम्बिनी

कडा सुरक्षाबीच भैरहवामा रवि लामिछानेको बयान जारी

इकागज |
कात्तिक २८, २०८१ बुधबार १४:१ बजे

भैरहवा- सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई आज दोस्रो कडा सुरक्षाका बीच सरकारी वकिलको कार्यालय रुपन्देही लगिएको छ । 

पहिलो दिन प्रारम्भिक बयान भएको र दोस्रो दिन बयानलाई निरन्तरता दिनका लागि आज बिहान १० बजे लामिछानेलाई सरकारी वकिलको कार्यालय लगिएको हो । उनलाई प्रहरीले प्रहरीको जंजिर नै बनाई नदेखिने गरि कडा सुरक्षाका साथ बयानको लागि लगिएको छ ।


सरकारी वकिलको कार्यालयमा ठूलो संख्यामा प्रहरी अधिकृतहरू नै खटिएर प्रहरीको घेरामा नै बयान कक्ष सम्म पुर्‍याइएको छ । 

मंगलबार बयानपछि जिल्ला प्रहरी कार्यालयमा उनलाई राखिएको थियो । आज जिल्ला प्रहरी कार्यालयबाटै प्रहरीको कडा सुरक्षामा लामिछानेलाई सरकारी वकिलको परिसरमा पुर्‍याइएको थियो । प्रहरीको गाडिभित्र रहेका लामिछानेलाई परिसरभित्रै गाडि राखी भित्रि बाटोबाट बयान कक्षसम्म लगिएको थियो । लामिछाने नदेखिउन भन्नका लागि बयान कक्षसम्मको बाटोलाई प्रहरीको जंजिर बनाई घेरिएको थियो । 

मंगलबार बयानपछि बाहिर निस्कने क्रममा सरकारी वकिलको कार्यालय परिसरमै ‘खोरमा बाघलाई थुन्दैमा स्याल हुँदैन’ भन्ने प्रतिक्रिया दिएपछि माथिबाटै आदेश छ भन्दै रुपन्देही प्रहरी आज घेरा हाली लग्नु परेको प्रहरी स्रोतले बताएको छ । 

पोखरा र रुपन्देहीमा एकै प्रकृतिको कसुर भए पनि जिल्ला र संस्था फरक–फरक भएकाले हरेक जिल्लामा लामिछानेबिरुद्ध छुट्टाछुट्टै मुद्दा दर्ता हुने रूपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरले बताए । ‘जति जिल्लामा उजुरी दर्ता हुन्छ, त्यहींको कागजात र प्रमाणअनुसार नै प्रक्रिया अघि बढ्ने हो, एकै प्रकृतिको कसुरमा एकै चरणमा अनुसन्धान भए पनि गाभ्न मिल्दैन,’ उनले भने ।

स्थानअनुसार प्रमाण फरक–फरक हुन सक्ने भएकाले मुद्दा गाभ्न नमिल्ने उनको भनाइ छ । अहिलेसम्म पक्राउ अनुमति लिइएका र अनुसन्धान गर्नुपर्ने देखिएका अन्य व्यक्तिहरूविरुद्ध पनि रूपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने तयारी रहेको राठौरले जानकारी दिए ।

जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेल, इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजयराज पण्डित, जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकारीहरूलगायतको उपस्थितिमा सवा १० बाट बयान सुरु भएको छ । पहिलो दिन केही प्रश्नहरू सोधिएको थियो । यसअघि सोही कसुरमा छविलाल जोशीसँग पनि बयान लिएको थियो । छविसँग ५६ सवाल जवाफ भएको थियो । 

जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेल मुलकी फौजदारी कार्याव्यवस्थाको दफा १६ मा अनुसन्धान अधिकारीले सरकारी वकिल समक्ष बयान लिने व्यवस्था अनुरुप बयान लिनका लागि यहाँ अनुसन्धान अधिकारीले उपस्थित गराएको बताए । ‘रविको विरुद्धमा परेको सहकारी ठगी सम्बन्धी कसुरमा पहिलो दिन ३ घण्टा ३५ मिनेट बयान लिएको हो । प्रारम्भिक बयान भयो, लेखबद्ध गर्ने काम बाँकी छ बयान गर्दै जाँदा कहिले सकिन्छ भन्न सक्ने अवस्था नरहेको’ उनले भने । 

पोखराको सूर्य दर्शन सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा पक्राउ परेका लामिछानेमाथि बुटवलमा रहेको सुप्रिम सहकारीको रकमसमेत हिनामिनामा संलग्न रहेको आरोप छ । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनलाई सूर्यदर्शन सहकारीमा अनुसन्धान सकिएकाले सुप्रिमका लागि रवि लामिछानेलाई मंगलबार रुपन्देही ल्याइएको हो ।

रुपन्देही जिल्ला अदालतले रवि लामिछाने र छविलाल जोशीसहित १२ जनाविरुद्ध यसअघि नै पक्राउ पूर्जी जारी गरिसकेको छ । प्रहरीले बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा अनुसन्धान गरिरहेको छ ।

बुटवलस्थित सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।

रुपन्देही ल्याएसँगै रास्वपा र सहकारी पीडित दुवै पक्षले प्रदर्शनको गरिरहेका छन् । सुप्रिम सहकारी पीडितले उनलाई बयान लिने सरकारी वकिलको कार्यालय तथा जिल्ला अदालत परिसरमा वरिपरि प्रशासन निषेध गरी बयान जारी राखेकाले विरोध प्रदर्शन बाहिर भइरहेको छ ।


Author

थप समाचार
x