अवरुद्ध नारायणगढ-बुटवल सडक खुल्यो
सांकेतिक तस्बिर
काठमाडौँ : पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल सडकखण्ड शुक्रबार दिउँसोबाट दुईतर्फी सञ्चालनमा आएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१० स्थित २३ स्मृति पुलमा डाइभर्सन निर्माण गरिएपछि सो सडक दुईतर्फी सञ्चालनमा आएको हो ।
अविरल वर्षाका कारण हिजो बिहान आएको बाढीले सो सडकमा निर्माण गरिएको डाइभर्सन बगाउँदा सवारी साधन अवरुद्ध भएको थियो । दिउँसोदेखि दुईतर्फी रुपमा सवारी साधन सञ्चालनमा आएपछि राजमार्गमा रोकिएका सवारीसाधनहरू गन्तव्यमा पठाइएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले जानकारी दिए ।
अहिले सो सडकमा सामान्य अवस्थामा नै सवारीसाधन सञ्चालन भइरहेको उनको भनाइ छ । नारायणगढ बुटवल सडक विस्तारका क्रममा गैँडाकोट क्षेत्रमा रहेका पुराना पुल हटाएर नयाँ मोटरेबल पुल बनाउनका लागि विभिन्न स्थानमा सडकमा डाइभर्सन गरिएको छ । गैँडाकोट क्षेत्रमा सात ठाउँमा नयाँ पुल बनाउने क्रमसँगै डाइभर्सन निर्माण गरिएकोमा तीन वटा पुल निर्माण अन्तिम चरणमा पुगेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया