लुम्बिनी

रूपेन्देहीमा रवि लामिछानेको थुनछेक बहस सुरू

इकागज |
माघ ९, २०८१ बुधबार ११:५७ बजे

फाइल तस्बिर

बुटवल- पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको जिल्ला अदालतमा बयान सुरू भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेको थुनछेक बहस हुने भए पछि उनी अदालत खुल्ने बितिक्कै पुगेका थिए । उनको मुद्दा न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा भइरहेको छ ।


लामिछानेविरुद्ध बुटवलको सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको कसुरमा आइतबार मुद्दा दायर भएको थियो ।

सो सहकारीमा रहेका १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रूपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो । गत बैशाख ३ मा पहिलो पटक मुद्दा दायर भए पनि लामिछानेलाइ भने पुरक उजुरीमा राखिएको हो ।

प्रहरीले सुप्रिम सहकारीबाट १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको र २ करोड रुपैयाँ भने रवि लामिछानेको नाममा ऋण गएको भेटिए पछि उनी माथी उजुरी गरिएको हो ।

उनी यसअघि कास्कीमा ६५ लाख र काठमाडौँमा ६० लाख धरौटी बुझाएर छुटेका हुन् । बुटवल पछि उनले चितवन र पर्सा पनि अदालतमा बयान दिन जान बाँकी नै छ । ती जिल्लाबाट पनि पक्राउ पुर्जी जारी गरे पछि चितवन र पर्सा दुवैमा सरकारी वकिलसमक्ष बयान दिइसकेका छन् ।

रूपन्देही अदालतमा बयान दिनका लागि हिजो नै लामिछाने बुटवल पुगेका थिए ।


Author

थप समाचार
x