लुम्बिनी

जसपाका तीन सांसद सर्वोच्च जाने

इकागज |
साउन १६, २०७८ शनिबार १४:२ बजे

बुटवल - पदमुक्त भएका लुम्बिनी प्रदेशका तीनजना सांसद सर्वोच्च अदालत जाने भएका छन्। पार्टी निर्णयविपरीत शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी भएको भन्दै जनता समाजवादी पार्टीले कारबाही गरे तीन सांसद सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव र कल्पना पाण्डेय सर्वोच्‍च जाने भएका हुन् । उनीहरूलाई पार्टीको केन्द्रीय कार्यकारिणी कमटीले कारबाही गरेको थियो।

कारबाहीका आधारमा प्रदेश सभा सचिवालयले शुक्रबार सांसद पदबाट मुक्त भएको सूचना सार्वजनिक गरेको थियो। सांसद पाण्डेयले यसअघि गरिएको कारबाहीको मुद्धा सर्वोच्चमा विचाराधीन रहँदारहँदै पनि पार्टीले कारबाही गर्नु अदालतको मानहानी भएकाले सर्वोच्च अदालत जान लागेको बताए । 


विपक्षीहरूको प्रभावमा संसद सचिवालयले अदालतको समेत मानहानी गर्ने काम गरेको छ, त्यसविरुद्व हामी अदालत जान्छौँ । अन्तिम फैसला नआउन्जेल गरिएको कारबाही अवैधानिक रहने भएकाले सांसद पद थमौतीका लागि परमादेशको माग गर्दै अदालत जाने उनको भनाइ छ।

पार्टीको लुम्बिनी प्रदेश संसदीय दलले गरेको कारबाही अनुसार यसअघि बैशाख १६ गते यी तीन सांसद र सुमन शर्मासहित चार जनालाई गरिएको कारबाहीमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै उनीहरूको पद थमौती गरिदिएको थियो। तर, अन्तिम फैसला आउनुअघि नै पार्टी फेरि तीन सांसदलाई कारबाही गरेपछि उनीहरू अदालत जाने भएका हुन् ।


Author

थप समाचार
x