लुम्बिनी

आयोगको परस्पर बाँझिने निर्णय

पदमुक्त तीन सांसदको दल परिर्वतन सनाखत

विक्रम खड्का |
भदौ २७, २०७८ आइतबार ११:५७ बजे

बुटवल - प्रदेशसभाबाट पदमुक्त भइसकेका लुम्बिनी प्रदेशका तीन जना सांसदलाई निर्वाचन कार्यालयले दल परिर्वतन गरी सनाखत गरेको छ । सभाद्वारा पदमुक्त सांसदको ‘सनाखत’ भएपछि कानुनी जटिलता थपिएको छ ।

ती तीन जनामध्ये एकजना समानुपातिक सांसदको स्थानमा त आयोगले नै अर्को सांसद निर्वाचित भएको भन्दै प्रमाणपत्र समेत दिइसकेको छ । जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरूको कारबाहीका विषयमा आयोगले परस्पर बाँझिने खालको निर्णय गरेको छ ।


गत भदौ २२ गतेसम्म विभाजित दलमा रहेका जनप्रतिनिधिले दल रोज्न पाउने समयसीमा थियो । उक्त अवधिमा ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीमा जसपाले कारबाही गरी प्रदेशसभाले समेत पदमुक्त गरेका तीन जनालाई सांसदको प्रदेश निर्वाचन कार्यालय दाङले सनाखत गरेको हो । 

जसपाको सिफारिसका आधारमा सांसदहरू सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव र कल्पना पाण्डे लम्साललाई प्रदेशसभाले पदमुक्त गरेको थियो । तर, लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले पाण्डे, यादव र लम्सालको निवेदन लिँदै लोकतान्त्रिक समाजवादी पार्टी रोजेको सनाखत गरेको हो । जबकि प्रदेशसभाले तीनै जनाको पद रिक्त भएको सूचना साउन १५ गते नै जारी गरिसकेको थियो । 

त्यतिमात्रै होइन, आयोगले जनता समाजवादी पार्टीका तर्फबाट यसअघि समानुपातिक मधेसी समूहबाट प्रदेशसभा सदस्य बनेकी लम्सालको पद रिक्त भएको भन्दै उक्त पदमा रूपन्देहीकी निर्मला मुडभरी भट्टराईलाई निर्वाचित भएको घोषणा गरी प्रमाणपत्र दिएको छ । सभामुख पूर्णबहादुर घर्तीले भदौ २३ गते (बुधबार) प्रदेशसभा सदस्य भट्टराईलाई शपथ गराएका थिए ।

प्रदेशसभाले पदमुक्तको सूचना निकालेकालाई सनाखत पुष्टि हुने गरी निवेदन लिएपछि यसले जटिलता थपेको कानुन व्यवसायी महेन्द्र पाण्डेले बताए । उनले भने, ‘निर्वाचन आयोगको दोहोरो भूमिका देखियो, यसले भोलि समस्या सिर्जना गर्न सक्छ ।’

तर उनीहरू तीनै जनाको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । लुम्बिनी प्रदेश निर्वाचन आयोगका सूचना अधिकारी गेहेन्द्र कुँवरले अदालतमा मुद्दा विचाराधीन रहेकाले केन्द्रीय निर्वाचन आयोगको सल्लाहअनुसार निवेदन लिएको बताए । 

उनले अदालतले पद पुनर्बहाली गरेमा लोकतान्त्रिक समाजवादीमा कायम हुने प्रमाणका लागि निवेदन लिएको बताए । निर्वाचन आयोग आफैँले रिक्त पदमा अर्को प्रदेशसभा सदस्य निर्वाचित गरिसकेकाले कारबाही भोगेकाहरूको सनाखतको अर्थ नहुने जनता समाजवादी पार्टी लुम्बिनीका मुख्यसचिव यज्ञ पोख्रेलले बताए । उनले भने, ‘निर्वाचन आयोगले सनाखत गरेपछि अन्यौलमा पारेको छ, तर यसको कुनै अर्थ रहँदैन ।’


Author

विक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x