लुम्बिनी

बाघ नियन्त्रणमा नआउँदा राप्तीसोनारीवासी त्रसित

इकागज |
पुस २६, २०७८ सोमबार ७:८ बजे

फाइल तस्बिर

बाँके- राप्तीसोनारी गाउँपालिकामा आतङ्क मच्चाइरहेको बाघलाई नियन्त्रणमा लिन नसक्दा सर्वसाधारण त्रसित बनेका छन् । बाघले दिनहुँ आतङ्क मच्चाइरहेको छ । बाघले दुई दिनका अन्तरालमा राप्तीसोनारीमा दुई महिलाको ज्यान लिनुका साथै स्थानीयवासीलाई आक्रमण प्रयास गरेको जनाइएको छ ।

राप्तीसोनारी –६ फत्तेपुर निवासी लालबहादुर थापाले बाघले विगत एक हप्तादेखि राप्तीपारीस्थित बैजापुर, बिनौना र फत्तेपुरको जङ्गलभित्र मान्छे र पशु चौपायामाथि निरन्तर आक्रमण गर्दै आएको जानकारी दिनुभयो ।  । बाघको शृङ्खलाबद्ध आक्रमण नरोकिएपछि राप्तीपारीका स्थानीय अहिले निकै त्रसितमा छन् ।  


बाघको आक्रमणबाट शनिबार राप्तीसोनारी–६ फत्तेपुरकी २९ वर्षीया चादनी थारु र बिहीबार राप्तीसोनारी ४ पर्सोनाकी ५३ वर्षीया लिला विष्टको मृत्यु भएको थियो । बाघको आक्रमणबाट बाँकेमा तीन महिनाभित्र चार जनाको ज्यान गइसकेको छ । यसअघि राप्तीसोनारी–१ गाभर र नरैनापुरमा एक÷एक जनाको मृत्यु भएको थियो । 

बाघको निगरानी गर्न बाँके राष्ट्रिय निकुञ्जले विगत तीन दिनदेखि राप्तीपारी क्षेत्रमा दुई हात्तीसहित कर्मचारी तथा सुरक्षाकर्मी परिचालन गरेको छ । बाघले आतङ्क मच्चाइरहेको स्थान राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रअन्तर्गत पर्ने भएकाले डिभिजन वन कार्यालय बाँकेका कर्मचारी पनि परिचालित भएका छन् ।  

राप्तीसोनारी–५ का वडाध्यक्ष झगरु थारुले बाघलाई नियन्त्रणमा आउन नसक्दा सर्वसाधारणमा त्रास फैलिएको बताउनुभयो । अधिकांश जनता कृषि पेसामा आबद्ध रहेकाले वन, जङ्गलभित्र प्रवेश गर्नु उनीहरुको बाध्यता रहेको वडाध्यक्ष थारुको भनाइ छ । 

राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले बाघलाई चाँडोभन्दा चाँडो नियन्त्रणमा लिएर जनतालाई त्रासबाट मुक्त गर्न आफूले सम्बन्धित निकायसँग बारम्बार आग्रह गरिरहेको बताए । रासस


Author

थप समाचार
x