गण्डकी

रक्सी छुँदा मरणासन्‍न

अरुको घर बनाइदिएर आफ्नो घर चलाउने युवराज अब संसार देख्‍न सक्दैनन्

अनिष भट्टराई |
फागुन २४, २०७७ सोमबार १७:११ बजे

पोखरा : फागुन १६ गते  । बेलुकाको ७ बज्दै थियो । म्याग्दी बेनी नगरपालिका–१ का युवराज सुनार (४८) काम सकेर निस्किए । स्थानीय सन्तु नेपालीको घर बनाउने काममा लागेका उनी गैह्राटोलतिर लागे । उनको घर जाने बाटो सन्तुको निर्माणाधीन घरबाट केही माथि पर्छ । तर उनी घर नगई तलतिर ओर्लिए । 
सँगै काम गरेका अरु साथीले उनी कता हिँडे भन्‍ने मतलब गरेनन् । युवराज स्थानीय पसलमा छिरे, अनि रक्सी मागे । साढे ७ भइसकेको थियो । 

दिनभरको कामले उनी थकित थिए । त्यही बेला उनीमाथि कुटपिट भयो । पसल माथिका कसैले सुइँको पनि पाएनन् । पसलमा उनलाई ३ पुरुषले मरणासन्न हुने गरी कुटे । युवराजको घरमा छोरा, छोरी र श्रीमती छन् । ससाना छोराछोरी अँध्यारोमा बुबालाई खोज्‍न जान सक्दैनथे । ‘बा आउँछन्’ भनेर ३ जना कुरिरहे । 
रात छिप्पिदै गयो । युवराजको अत्तोपत्तो भएन । श्रीमती ताराको मनमा चिसो पस्यो । खबर गरिन् गाउँकै हर्ताकर्ता युवालाई । राति १ बजे युवराजकहाँ छन् भन्ने पत्तो लाग्यो । युवराज भेटिँदा पलाएको ताराको खुसी छिनभरमै हरायो । 


युवराज बाटोमा रगताम्मे थिए । आँखा र दाहिने खुट्टामा चोट देखिन्थ्यो । शरीरभर निलडाम थिए । राति नै परिवारले युवराजलाई बागलुङ अस्पतालमा लगे ।   
बागलुङ अस्पतालले केही उपचार गर्‍यो । आँखामा गम्भीर चोट देखिएकाले तत्काल पोखराको हिमालय आँखा अस्पताल घारीपाटन रेफर गरियो । परिवारले युवराजलाई आँखा अस्पताल ल्याए । 

घारीपाटन ल्याइएका युवराजको शरीर काम्दै थियो । उनको शरीरमा ‘एनर्जी लो’ भएपछि आँखाको उपचार गर्न नसकिने भन्दै आँखा अस्पतालले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लैजान सुझाव दियो । पश्चिमाञ्चल अस्पतालमा आइसियु खाली नभएको भनिएपछि युवराजलाई १७ गते बेलुकामात्र पश्चिमाञ्चल सामुदायिक अस्पताल ल्याइयो । 

अहिले युवराजको पश्चिमाञ्चल सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । कसैका लागि घर बनाइदिएर आफ्नो घर चलाउने उनी अब संसार देख्न सक्दैनन् । उनको आँखाको ज्योति गुमेको छ । 

अस्पताल ल्याइसकेपछि उनको होस आएको थियो । होसमा भएका बेला युवराजले आफूलाई ‘रक्सी छोइस् भन्दै कुटेको’ आफन्तलाई बताएका थिए । 
युवराजका भाइ गोविन्दका अनुसार युवराजलाई यसअघि पनि पटक पटक जातीयताकै आधारमा दुव्र्यवहार गरिएको थियो । शारीरिक आक्रमण भएको भने यो पहिलो पटक हो । युवराजमाथि काँटा, चम्चा र रड प्रहार गरिएको गोविन्दको दाबी छ । ‘काँटा, चम्चाले अनुहार र रडले खुट्टामा हानेको देखिन्छ । अब यो मर्‍यो भनेर नै फालेका हुन् उनीहरूले,’ गोविन्दले भने ।


Author

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।


थप समाचार
x