कर्णाली

जसले उपप्रमुखमा अब्बल काम गरिन्, प्रमुख जितिन्

लक्ष्मी भण्डारी |
जेठ ५, २०७९ बिहिवार १८:३० बजे

सुर्खेत - कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकामा नेकपा (एमाले) ले मोहनमाया ढकाललाई मेयरको उम्मेदवार बनायो । गठबन्धनलाई पन्छाउँदै उनी प्रदेशको राजधानी स्थित वीरेन्द्रनगर नगरपालिकाको मेयर बनिन् । उनले निर्वाचन जित्नुको मुख्य कारण भनेको पाँच वर्षे उपप्रमुखको कार्यकालमा गरेका राम्रा कामकै परिणाम हो ।

उनी उपमेयरको पाँच वर्षे कार्यकालमा छुट्टै पहिचान बनाउन सफल भइन् । जसले गर्दा जनतामाझ पनि प्रिय छिन्। उनको त्यही कामको मूल्याङ्कन गर्दै केन्द्रले मेयरको उम्मेदवार बनाएको स्थानीय नेता बताउँछन् । 


२०७४ सालको स्थानीय निर्वाचनमा मेयरमा नेपाली कांग्रेसका देवकुमार सुवेदी निर्वाचित भएका थिए । उपमेयरमा निर्वाचित ढकालले भने मेयरमा निर्वाचित सुवेदीको भन्दा पनि बढी मत पाएकी थिइन् । ढकालले १६ हजार ६८ मत पाएकी थिइन् भने प्रतिस्पर्धी कांग्रेसकी जानकी सिंहले १४ हजार २६ मत पाएकी थिइन् । 

‘राजनीतिमा लागेर कहिल्यै निराश भइनँ एक पटक असफल भए पनि अर्को पटक अवश्य सफल भइन्छ भन्ने सोचेर निरन्तर खटिइरहेकी छु’  ढकालले भनिन्, ‘नगरबासीले जुन् विश्वास दिएर मत दिनुभएको छ त्यसलाई गुम्न दिने छैन ।’ 

इमान्दारिता र निष्ठापूर्वक काम गरेर अघि बढ्ने ढकालले प्रतिबद्धता जनाइन् । ‘म महिला आन्दोलनबाट राजनीतिमा अघि बढेकी हुँ यसलाई निरन्तरताका साथ अगाडि बढाउँछु’ उनी भन्छिन्, ‘अब वीरेन्द्रनगरका छोरीहरुले पनि प्रमुख पदमा काम गर्न बाधा छैन, मैले ढोका खोलिदिएकी छु ।’

निडर र साहसी राजनीतिकर्मी ढकाल स्कूलबाटै विद्यार्थी राजनीतिमा संलग्न भएकी थिइन् । २०५६ मा अनेरास्ववियु शिक्षा क्याम्पस सुर्खेतको प्रारम्भिक कमिटी सदस्य, २०५७ मा जिल्ला कमिटी कोषाध्यक्ष तथा महिला विभाग प्रमुख र २०५९ मा अनेरास्ववियुको राष्ट्रिय सम्मेलनबाट राष्ट्रिय परिषद् सदस्य बनेकी थिइन् । 

२०६२ मा पार्टी राजनीतिमा प्रवेश गरेकी उनी दुई कार्यकाल अखिल नेपाल महिला संघको सचिव भएर काम गरिन् । २०६५ मा भने एमाले सुर्खेत जिल्ला कमिटी सदस्य भइन् । त्यसपछि २०६९ मा अखिल नेपाल महिला संघको जिल्ला अध्यक्ष भएकी उनी अहिले एमाले केन्द्रीय सदस्य तथा सुर्खेत सह–इन्चार्ज छन् । २०७४ सालमा निर्वाचित भएर उपमेयरको पदबहाली गर्दा थुप्रै चुनौती थिए, ती सबैलाई क्रमशः पार लगाउँदै आएको उनी बताउँछिन् । 

पाँच वर्षसम्म उपमेयर भएर काम गर्दा स्थानीय तहबारे बुझ्ने मौका पाएको उनी बताउँछिन् । ‘सामाजिक कामले राम्रो प्रभाव पारेको छ । महिलाको स्वास्थ्य, आमा सुरक्षा कार्यक्रम, छोरी जन्म बचत खाता, महिला स्वरोजगार कार्यक्रमबाट धेरै महिलाले लाभ लिएका छन्’ ढकाल भन्छिन् ।

४३ वर्षीय ढकालले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी छन् ।  उपमेयर बनेपछि स्थानीय तहमा आउने मुद्दामामिला हेर्नुपर्‍यो ।  त्यसका लागि उनले एलएलबी गरिन् । जसले गर्दा उनी न्यायिक समितिको नेतृत्व गरेर अब्बल काम गर्ने जनप्रतिनिधिमा स्थापित भइन् । 

‘छोरी हुनुमा गर्व गर’ भन्ने नारा सहित बालविवाह, बहुविवाह, बाल श्रममुक्त नगर जस्ता अभियान सञ्चालन गरेकी थिइन् । यससँगै नगरपालिकाले लैङ्गिक तथा सामाजिक समावेशी नीति पारित गरेको उनी बताउँछिन् । ‘यी कामहरूले फेरि पनि निरन्तरता पाउँछन् । यीसँगै बाँकी विकास निर्माणका कामलाई गति दिनेछु ।’ 

कोरोनाभाइरसको महामारीको समयमा उनले सात महिना कार्यवाहक मेयर भएर पनि काम गरिन् । त्यो समयमा उनले खेलेको भूमिकाले नगरवासीहरुमा सकारात्मक प्रभाव परेको थियो ।  ‘पाँच वर्षे कार्यकाल पूरा गर्दैगर्दा आफूले गरेका धेरै वाचा पूरा भएको अनुभूति छ’ ढकाल भन्छिन्, म फेरि नगरवासीको आँगनमा पुग्दा सोधिने प्रश्नको जवाफ दिन सक्ने गरी उभिनेछु अझै अबको कार्यकालमा राम्रा कामहरु गरेर अघि बढ्नेछु ।’  


 


Author

थप समाचार
x