कर्णाली

यहाँकै नेताका कारण कर्णाली बनेन : सांसद थापा

लक्ष्मी भण्डारी |
असार ९, २०७९ बिहीबार २१:२३ बजे

सुर्खेत- कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का ल्याएको बजेटमाथि छलफल सुरू भएको छ ।

प्रदेश सभाको दशौं अधिवेशनको पन्ध्रौँ बैठकमा बोल्दै सांसद सुशिल थापाले कर्णालीकै नेताका कारण कर्णाली बन्‍न नसकेकाे टिप्पणी गरे । ‘हामीले ल्याउने कार्यक्रमहरूको भिजनको कारण हो,’ थापाले भने, ‘कर्णालीका नेताको राम्रो दृष्टिकोण नहुँदा कर्णाली बन्‍न सकेन ।’ दिन प्रतिदिन कर्णालीबाट विदेशिने युवाहरूको संख्या बढ्दै गइरहेको उल्लेख गर्दै सांसद थापाले उनीहरूको लागि प्रभावकारी कार्यक्रम आउन नसकेको स्पष्ट पारे ।


थापाले अहिले पनि प्रदेश सरकारले वितरणमुखी बजेट ल्याएको र कर्णाली प्रदेश कर्णालीकै कारण समृद्धिको दिशातर्फ अगाडि बढ्न नसकेको दाबी गरे । कर्णालीको गरिबी घटाउने, स्वास्थ्य, शिक्षा र रोजगारीमा जोड दिने गरी समावेशी र समानुपातिक बजेट ल्याउन सरकारलाई आग्रह गरे ।

छलफलमा भाग लिँदै नेकपा एमाले कर्णाली प्रदेश सभा दलका नेता यामलाल कँडेलले औषधि विभागमा दर्ता नभएकालाई पशु स्वास्थ्यको तालिम दिइएको विषयमा सरकारको ध्यानाकर्षण गराए । साेही क्रममा उनले चैतसम्म बजेट नहुने तर असारमा फालाफाल हुने र विकास गर्ने नभई खाने संस्कार एवं प्रवृत्ति कर्णालीमा बढ्दै गएको टिप्पणी गरे ।

‘संघीय सरकारसँग प्रस्ताव नराखी प्रदेश अस्पताललाई प्रतिष्ठानमा बदल्ने कुराले संघीय सरकारले बनाउने भनेको मेडिकल कलेज निस्तेज गर्ने तरिका होइन ?,’ कँडेलले प्रश्‍न गरे । कँडेलले सरकारले सञ्‍चालन गरेका योजना विकास नभई व्यवसाय र धन्दामा परिणत भएको जिकिर गरे ।

त्यस्तै, प्रदेश सभा सदस्य नरेश भण्डारीले ‘पर्वतीय विज्ञान तथा प्रविधि विश्‍वविद्यालय सम्बन्धमा व्यवस्था गर्न विधेयक, २०७६’ सरकारले फिर्ता लिने कुरा कदापि स्वीकार्य नहुने चेतावनी दिए । सरकारले ‘एक स्थानीय तह, एक औद्योगिक ग्राम’ कार्यक्रममा बजेट व्यवस्था नभएको समेत औँल्याए । कर्णाली समृद्धिको सपनालाई साकार पार्ने खालको पुँजीगत बजेटमा ध्यान दिन सरकारलाई आग्रह गरे ।

प्रदेश सभाको दशौं अधिवेशनको पन्ध्रौँ बैठकमा सभामुख राजबहादुर शाहीकाे अनुमति अनुसार आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले आगामी वर्षको राजश्‍व र व्ययको वार्षिक अनुमानसहितको बजेट छलफलका लागि सभामा पेश गरे सँगै छलफल सुरू भएको थियो । प्रदेश सभाको अर्को बैठक असार १० गते शुक्रबार दिउसो ३ बजे बस्‍ने सभामुख  राजबहादुर शाहीले जानकारी दिए ।


Author

थप समाचार
x