कर्णाली

बजेटमाथि टिप्पणी : कर्णालीको बजेटमा सत्ता र शक्तिको दुरूपयोग

लक्ष्मी भण्डारी |
असार १०, २०७९ शुक्रबार १९:५८ बजे

सुर्खेत- कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ल्याएको बजेटमाथि छलफल चलिरहेको छ ।

प्रदेशसभाको दशौं अधिवेशनको सोह्रौं बैठकमा बोल्ने सांसदहरूले कर्णाली सरकारले यस वर्ष ल्याएको बजेट सत्ता र शक्तिको आडमा कार्यक्रमहरू राखिएको भन्दै आलोचना गरेका छन् । उनले अहिले पनि प्रदेश सरकारले वितरणमुखी ल्याएको र कर्णाली प्रदेश कर्णालीकै कारण समृद्धिको दिशातर्फ अगाडि बढ्न नसकेको विचार व्यक्त गरे । कर्णालीको गरिबी घटाउने, स्वास्थ्य, शिक्षा र रोजगरीमा जोड दिने गरी समावेशी र समानुपातिक बजेट ल्याउन सरकारलाई आग्रह गरे ।


बजेटमाथि टिप्पणी गर्दै प्रतिपक्षका सांसद मिनासिंह रखालले समानुपातिक सांसदले राखेका मागका बारेमा सरकारले सुनुवाइ नगरेको बताइन् । ‘हामी महिला भएकैले हो वा जनजातिको छोरीबुहारी भएकाले हो संसदमा बोलेको कुराको सुनुवाइ नै हुँदैन,’ उनले भनिन्, ‘काग कराउँदै गर्छ पिना सुक्दै गर्छ भनेझैं शैलीमा सरकार अघि बढेको छ ।’

सांसद राजु नेपालीले हात्तीका देखाउने र चपाउने दुईवटा दाँत भनेझैं यो बजेट देखाउने दाँत भएको उल्लेख गरे । सांसद करविर शाहीले कतिपय योजनाहरू मात्र राखिएको र त्यसमा बजेट उल्लेख नगरेको भन्दै आलोचना गरे । सांसद पद्मा खड्काले सरकारले फेरि पनि टुक्रे योजनाहरुलाई नै प्राथमिकतामा राखेर अघि बढेको बताइन् ।

सांसद दानसिंह परियारले फेरि पनि बजेटमा सत्ता र शक्तिकै खेल दोहोरिएको भन्दै विरोध जनाए । ‘कर्णालीका समस्या र दु:खका कुरा उठाउँदै आयौं,’ उनले भने, ‘पाँच वर्षमा यस्तो काम गर्‍यौं भनेर केही उत्तर छैन ।’

सांसद गोपाल शर्माले विगतदेखि नै मन्त्री भएकै क्षेत्रमा बढी बजेट जाने प्रवृत्ति रहेको बताए । ‘असन्तुलन र आत्मकेन्द्रित  बजेट आउन थालेको सुरुवातबाटै हो,’ उनले भने, ‘सांसदहरू  आफूले मात्र भनेको बजेट आए राम्रो भन्‍ने र भनेको जस्तो भएन भने चर्काे आलोचना गर्ने प्रवृत्ति रहेको छ ।’

प्रदेशसभाको दशौं अधिवेशनको पन्ध्रौँ बैठकमा सभामुख राजबहादुर शाहीकाे अनुमति अनुसार आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले आगामी वर्षको राजश्‍व र व्ययको वार्षिक अनुमानसहितको बजेट छलफलका लागि सभामा पेश गरे सँगै छलफल सुरू भएको थियो ।

प्रदेशसभाको अर्को बैठक असार १२ गते आइतबार दिउँसो ३ बजे बस्‍ने सभामुख  राजबहादुर शाहीले जानकारी दिए ।


Author

थप समाचार
x