कर्णाली

यस्तो छ सुर्खेतका स्थानीय तहले प्रस्तुत गरेको बजेट

पूर्वाधार विकाससँगै, स्वास्थ्य, शिक्षा र कृषिलाई प्राथमिकता

लक्ष्मी भण्डारी |
असार ११, २०७९ शनिबार १८:१४ बजे

सुर्खेत ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतका ९ वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०७९-८० का लागि नीति तथा वार्षिक बजेट सार्वजनिक गरेका छन् । स्थानीय सरकारले १० असारभित्र आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था अनुसार शुक्रबार जिल्लाका नौ वटै स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०७९-०८० को नीति तथा कार्यक्रम र बजेट ल्याएका हुन् । 

अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को परिच्छेद ७ को दफा २१ को उपदफा ३ मा गाउँ कार्यपालिका र नगर कार्यपालिकाले प्रत्येक वर्ष असार महिनाको १० गतेभित्र आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँ वा नगरसभामा पेस गर्नुपर्ने व्यवस्था छ ।


सुर्खेतका स्थानीय तहले प्रस्तुत गरेको बजेटमा पूर्वाधार विकाससँगै स्वास्थ्य, शिक्षा, कृषिले प्राथमिकता पाएका छन् । वीरेन्द्रनगर नगरपालिकाले कृषि, शिक्षा र पूर्वाधार विकासलाई प्राथिमिकतामा राखेर बजेट ल्याएको छ । आर्थिक सम्पन्नता, भौतिक रुपले योजनावद्ध सहरी सुविधायुक्त, लैंगिक रुपमा महिलामैत्री, सामाजिक रुपले समावेशी-सहभागितात्मक, वातावरणीय रुपले स्वच्छ, सफा तथा व्यवस्थापकीय रुपले सुव्यवस्थित शैक्षिक, प्रशासनिक र पर्यटकीय सहरको रुपमा निर्माण गर्ने योजना वजेटका प्राथमिकतामा छन् ।नगरपालिकाले एक अर्ब ९४ करोडको बजेट ल्याएको छ । 

वीरेन्द्रनगरपछि दोस्रो ठूलो बजेट गुर्भाकोट नगरपालिकाले सार्वजनिक गरेको छ । यस पालिकाले ९५ करोड ५८ लाखको बजेट ल्याएको छ । नगरपालिकाले पनि पूर्वाधार विकास र स्वास्थ्य तथा शिक्षा र व्यवसायलाई केन्द्रित गरि बजेट ल्याएको छ  । 

यस्तै लेकवेशी नगरपालिकाले ७४ करोड ८७ लाख नौ हजार ५७ रुपैयाँ बजेट ल्याएको छ । नगरपालिकाले चालु खर्चतर्फ ४० करोड २५ लाख ४३ हजार ३ सय ६९ र पूँजीग तर्फ २९ करोड ९७ लाख ८८ हजार एक सय ९२ रुपियाँ बजेट विनियोजन गरेको छ । यस पालिकाले पनि कृषि, शिक्षा र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको छ ।

पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाले झण्डै ८६ करोड बराबरको बजेट प्रस्तुत गरेको छ । पञ्चपुरी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ८६ करोड २० लाख ४८ हजार ६ सय ५१ रुपैयाँ बराबरको बजेट ल्याएको छ । यस्तै, भेरीगंगा नगरपालिकाले ६७ करोड ५ लाख ८१ हजार ७ सय ७९ बराबरको बजेट प्रस्ताव गरेको छ ।
यस्तै, चिङ्गाड गाउँपालिकाले कृषि, पशु, स्वास्थ्य तथा पूर्वाधार विकास लक्षित बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाले चालुतर्फ २८ करोड ७७ लाख १० हजार र पूँजीगततर्फ १० करोड ३९ लाख ७८ हजार ४० गरी कुल ४९ करोड ३८ लाख ९६ हजार ८ सय ९६ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ ।

यस्तै, बराहताल गाउँपालिकाले ६२ करोड ७१ लाख ८ हजार ६ सय २३ रुपैयाँको बजेट ल्याएको छ । गाउँपालिकाले पेश गरेको वजेटमा चालुतर्फ ३९ करोड ६४ लाख ५८ हजार ६ सय २३ रुपैयाँ र पूँजीगततर्फ २३ करोड ६ लाख ५० हजार बजेट विनियोजन भएको छ । बराहतालले कृषि, स्वास्थ्य, शिक्षा, रोजगार र विकास निर्माणका योजनालाई प्रfथमिकतामा राखेर बजेट ल्याएको छ । यस्तै, सिम्ता गाउँपालिकाले चालुतर्फ २५ करोड दुई लाख २४ हजार र पूँजीगततर्फ ३४ करोड ९३ गरी जम्मा ५९ करोड ३४ लाख बराबरको बजेट पेश .भएको छ । सिम्ता गाउँपालिकाले पनि पूर्वाधार विकासमा जोड दिएको छ । चौकुने गाउँपालिकाले कृषि, पशुपालन, खानेपानी र पूर्वाधार विकास केन्द्रित गरी ५७ करोड ६८ लाख ४४ हजार बराबरको बजेट पेश गरेको छ ।


Author

थप समाचार
x