कर्णाली

प्रतिपक्षीको अवरोधपछि कर्णालीको प्रदेशसभा बैठक स्थगित

इकागज |
असार १२, २०७९ आइतबार २१:३५ बजे

फाइल फोटो

कर्णाली - प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले कर्णाली प्रदेशसभाको अठारौँ बैठक अवरोध गरेपछि प्रदेशसभा बैठक स्थगित भएको छ । प्रतिपक्षी दलका नेता यामलाल कँडेलले प्रदेश सरकारले चालु आव २०७८/७९ बजेटमा गठबन्धन सरकारले एमालेसँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै चर्को विरोध गरे ।  

`बजेट निर्माणका सवालमा पनि सरकारले एमालेसँग सहकार्य गरेर अघि बढ्ने लिखित सहमति भयो,` उनले भने, `योजना टुक्र्याउने, मुख्यमन्त्री रोजगार कार्यक्रम सच्याउनेजस्ता काम भयो । हरेक कुरामा सहमति विपरीत कार्य भए । यो एमालेका लागि यो सह्य हुँदैन ।`


नेता कँडेलले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटको किताब तथ्य नभएको तर सुदूरपश्चिमका तीन जिल्ला पनि कर्णालीको बजेट ल्याएर सीमाना विस्तार गरेको कटाक्ष गरे । हुँदै नभएको जिल्ला र भूगोललाई समेटेर ल्याएको बजेटलाई समर्थन गर्न नसकिने र सभा सञ्चालन गर्न नदिने भन्दै एमालेले बैठक अवरोध गरेको थियो ।

बजेटमाथिको सैद्धान्तिक छलफलबाट एमालेले दिएको सुझाव ग्रहण सरकारले नगरेको भन्दै बैठकको काम कारबाही रोकिएपछि सभामुख राजबहादुर शाही एमालेका प्रदेशसभा सदस्यलाई बैठक सञ्चालनका लागि आग्रह गरे । अवरोध जारी भएपछि सभामुख शाहीले असार १३ गते दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिए । रासस


Author

थप समाचार
x