कर्णाली

कर्णालीका पालिकामा क्षमता अध्ययनको निष्कर्ष

स्थानीय तहको आवश्यकता र क्षमतामा खाडल

लक्ष्मी भण्डारी |
असार १४, २०७९ मंगलबार १३:२० बजे

सुर्खेत- कर्णालीका स्थानीय तहहरूमा पालिकाको आवश्यकता र क्षमताबीच खाडल रहेको पाइएको छ । उत्थानशील पूर्वाधार निर्माण  कार्यक्रमअन्र्तगत कर्णालीका तीन वटा पालिकामा गरिएको अध्ययनले यस्तो निष्कर्ष निकालेको हो । संयुक्त राष्टसंघीय कार्यक्रम(युएनडिपि) र उत्थानशील पूर्वाधार तथा जीविकोपार्जनको लागि स्थानीय सरकारको क्षमता विकास(CDRlL) ले गरेको अध्ययनले यस्तो निष्कर्ष निकालेको हो । उक्त अध्ययनअनुसार उत्थानशील पूर्वाधार विकासलाई वेवास्ता गर्दा समुदायमा जोखिम बढेको पाइएको छ । 

कर्णालीको तीन पालिकामा अध्ययन गरिएको थियो । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, कालिकोटको रास्कोट नगरपालिका र दैलेखको ठाँटीकाँध गाउँपालिकामा अध्ययन गरिएको थियो । पालिकाका प्राविधिक कर्मचारीहरूमा उत्थानशील पूर्वाधार निर्माणको विषयमा ज्ञानको कमी रहेका कारण समस्या भएको अध्ययनले देखाएको छ ।


पालिकाहरूमा गरिएको क्षमता अध्ययन विश्लेषण प्रतिवेदन सार्वजनिक गर्दै पूर्व  सहसचिव वसन्तराज गौतमले उत्थानशील पूर्वाधार निर्माणसम्बन्धी जनशक्तिको क्षमता अभिवृद्धिका साथै सबै तहका सरकारबीच संस्थागत सम्बन्ध अभिवृद्धिका लागि उपायहरू निकाल्नको लागि अध्ययन गरिएको जानकारी गराए । 

‘उपभोक्ताको घर घर मोटर बाटो सडक मोहका कारण जथाभावी रुपमा सडकहरू निर्माण गरिएका कारण उत्थानशील पक्षहरू ओझेलमा परेका छन्’ अध्ययनमा भनिएको छ, ‘इन्जिनियर तथा प्राविधिक कर्मचारीहरू माझ योजनाको  संरचना डिजाइन सम्बन्धमा मोटोमोटी सहमति हुने तर कार्यान्वयनमा जाँदा उत्थानशील निर्माणका प्राविधिक पक्षहरूमा बेवास्ता गर्ने गरिएको पाइएको छ ।’

त्यसैगरी प्राविधिक शाखाहरूमा प्राविधिक कर्मचारी पदपूर्ति हुन नसक्नुका साथै खटिएका कर्मचारीको पनि अत्यन्तै कमजोर भौतिक उपस्थित देखिएको छ । त्यसैगरी नीजि क्षेत्रका कृषि उद्यमीहरू बजारीकरण तथा जलवायुसम्बन्धी असफलताको डरले लगानीका लागि अनिच्छुक देखिएको अध्ययनले देखाएको छ ।

पूर्वसहसचिव गौतमले कर्णाली प्रदेशमा पूर्वाधार निर्माण लगानीको दृष्टिकोणले  खर्चिलो र भौगोलिक रुपमा चुनौतीपूर्ण भएतापनि विकास असम्भव भने नरहेको उल्लेख गरे ।  उत्थानशील विकासको  विषयमा समुदायस्तरमा समेत चासोको विषय बनेको गौतमले बताए । 

अध्ययनले निर्वाचित जनप्रतिनिधि, कर्मचारी तथा समुदायको क्षमता तथा सीप अभिवृद्धिमा जोड दिनुपर्ने आवश्यकता रहेको औँल्याएको छ । उचित योजना पद्धति र प्राविधिक पक्षहरूको व्यवस्थापनबाट गुणस्तरयुक्त पूर्वाधार निर्माण सुनिश्चितताका साथ संगठनात्मक पद्धति र प्रशासनमा सुधारको आवश्यकता रहेको पूर्वसचिव गौतमको भनाइ थियो । त्यसैगरी संगठन व्यवस्थापन सर्वेक्षण गरी प्राविधिक कर्मचारीहरूको दरबन्दी सृजना र पदपूर्ति गर्न आवश्यक रहेको छ । कार्यक्रममा तीनवटै पालिकाका जनप्रतिनिधि, कर्मचारी तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । 


Author

थप समाचार
x