राेपाइँ जात्रा : मन्त्री र कर्मचारी तामझाममा, किसान मल अभावकाे पीडामा
किसान भन्छन्- 'खेतमा आएर रमाइलाे गर्नुभन्दा बरु मल र सिँचाइकाे व्यवस्था गरिदिए हुने'
सुर्खेत- सुर्खेतमा मन्त्रालय तथा सरकारी निकायका पदाधिकारीहरू तामझामका साथ धान दिवस मनाइरहेका थिए । कृषि मन्त्रालय, कृषि निर्देशनालय तथा कृषिसँग सम्बन्धित कार्यालय बाजागाजासहित धानका बीउका मालाका साथ रमाइरहेका थिए । प्रदेशका मन्त्री तथा सरकारी कार्यालय कर्मचारीहरू बाजाका तामझाममा रमाउँदै गर्दा कृषकहरू भने निराश देखिए ।
खेतमा आली लगाउँदै गरेका मनिराम चौधरी भने मल नपाएका कारण उत्पादनमा कमी आउने हो कि भन्ने चिन्तामा छन् । ‘यसपालि पनि मल पाइएन त्यसैले राम्रो उत्पादन नहुने भयो,’ चौधरीले भने, ‘खेती लगाउने समयमा मलको अभाव भएपछि धान उत्पादन घट्ने त होला ।’ राम्रो उत्पादन भएमा उनलाई खेतमा लगाएको धानले वर्षभरि खान पुग्ने मात्र होइन त्यही धान बेचेर घरको गुजारा चलाउँदै आएका छन् ।
अर्का कृषक डिलबहादुर विसीको चिन्ता पनि उही हो । यस वर्ष रासायनिक मल नराखेर नै रोपाइँ सकिएको बताए । ‘मैले मल नभएरै नै हिजो रोपाइँ सकें , मल विना लगाएको खेती के राम्रो होला र,’ उनी भन्छन्, ‘सरकारको लापरबाहीका कारण नै मल समयमा आउन नसकेको हो, यसरी खेतमा आएर तामझाम गर्नुभन्दा हामीजस्ता कृषकहरूको लागि मल र सिँचाइको व्यवस्था गरिदिए पो राम्रो हुन्थ्यो ।’
कर्णालीका कृषकलाई मल खरिदको जिम्मा पाएको कृषि सामग्री केन्द्रले ७० र साल्ट ट्रेनिङ कर्पोरेसनले ३० प्रतिशत खरिदको जिम्मा पाएको हो तर, यो वर्ष हालसम्म रासायनिक मल आएको छैन ।
रासायनिक मलको खरिद गर्ने दायित्व संघको भएकाले प्रदेश सरकारले खरिद गर्न नसकेको भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री चन्द्रबहादर शाही बताउँछन् । ‘कृषकका धेरै समस्या छन् मलको मात्र होइन अरू पनि छन्,’ मन्त्री शाही भन्छन्, ‘संघको मात्र भर नपरेर हामीले पनि के गर्न सकिन्छ त्यसमा लागिपरेका छौँ ।’
कृषि विकास निर्देशनालयका निर्देशक चित्र रोकायाले प्रदेशभर औषतमा ३५ देखि ४० प्रतिशत प्रतिशत रोपाइँ भएको बताए । अर्गानिक प्रदेशका रूपमा चिनिएको कर्णालीमा अहिलेसम्म ३५ प्रतिशत मात्र धान रोपाइँ भएको छ । विगतका वर्षहरूमा मध्य असारसम्म आधा रोपाइँ भइसक्थे, तर यो पटक समयमै मनसुन सक्रिय नहुँदा धान रोपाइँ ढिला भइरहेको छ ।
कर्णालीमा धान रोपाइँ ढिलो हुनुको मुख्य कारण मनसुन ढिलो सक्रिय हुनु हो । कर्णालीको अधिकांश भू-भागमा खेती गर्नका लागि आकाशे पानीको भर पर्नुपर्ने हुन्छ । कृषि मन्त्रालयका अनुसार २ लाख १६ हजार आठ सय ८० कूल खेतीयोग्य जमिनमध्ये ३१.५१ प्रतिशत मात्र सिंचित क्षेत्र हो । त्यसमा पनि वर्षभरि सिँचाइ हुने क्षेत्र अझ कम छ ।
कर्णालीमा २५ लाख २५ हजार २७६ हेक्टर क्षेत्रफल जमिनमध्ये २ लाख ९९ हजार ३३९ हेक्टर क्षेत्रफल खेतीयोग्य छ । त्यसमध्ये पनि २ लाख १६ हजार ८८० हेक्टर क्षेत्रफलमा खेती गरिन्छ । खेती गरिने कुल जमिनमध्ये ३८ हजार ८८६ हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ हुन्छ ।
प्रदेशमा ६० प्रतिशत जमिन आकाशे पानीको भरमा छ । कर्णाली प्रदेश सरकारले सिँचाइका क्षेत्रमा ठूलो लगानी गरे पनि किसानहरू अझै पनि आकाशे पानीको भरमा पर्नुपर्ने बाध्यता छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया