कर्णाली

‘कर्णालीमा अब सुकुको जस्तो नियति कसैले भोग्‍न नपरोस्’

लक्ष्मी भण्डारी |
चैत २४, २०७७ मगलवार ११:३७ बजे

लागुऔषधसम्बन्धी प्रशिक्षणमा विभिन्न आमा समूहका महिलाहरू

सुर्खेत : श्रीमानलाई मदिराको लतबाट छुटाउन सकिन्छ भन्ने ज्ञान नभएका कारण कर्णालीकी सुकु बढुवालजस्ता महिलाले सामुहिक आत्महत्याको बाटो रोज्नु परेको सरोकारवालाहरूले बताएका छन् । यस्ता खालका लत र लागुऔषधमा फसेकाहरूलाई सुधार गर्न सकिन्छ भन्ने जानकारी नहँदा वर्सेनि कर्णालीका महिलाहरूले आत्महत्याको बाटो रोज्नुपरेको उनीहरूको भनाइ छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले आयोजना गरेको आमाहरूको लागि लागुऔषधविरुद्ध प्रशिक्षण कार्यक्रमका सहभागीहरूले यस्तो बताएका हुन् ।  

कार्यक्रममा नार्काेन संस्थाका अध्यक्ष पुजा कुँवरले लागुऔषधलाई हल्का रूपमा लिनाले ठूला घटनाहरू घट्ने गरेको बताइन् । ‘चार छोराछोरीसहित कर्णाली नदीमा हाम फाल्न बाध्य दैलेखकी सुकु बढुवालको जस्तो पीडा भोग्न नपरोस्’ कुँवरले भनिन्, ‘सुधारकेन्द्रमा राखेर श्रीमान सुध्रनुहुन्छ भन्ने सुकुलाई थाह भएन । जसका कारण उनी सामुहिक आत्महत्याको बाटो रोज्न बाध्य भइन् ।’ आफूलाई परेको पिरबारे गाउँले, छिमेकीसँग कुरा राखेको भए समाधानको बाटो आउन सक्थ्यो । ‘सुकुले आफ्नो समस्याको विषयमा जनप्रतिनिधिहरूसँग कुरा गरेको भए पनि हुन्थ्यो होला’ उनी भन्छिन्, ‘उनको समस्या समाधानको लागि जनप्रतिनिधिले केही सहयोग गर्थे होला अनि उनीहरूको ज्यान बच्न सक्थ्यो ।’


मदिरा तथा लागु औषधमा परेकाहरूलाई सुधार केन्द्रमा राखेर सुधार गर्न सकिन्छ भन्ने विषयमा ज्ञानको कमीका कारण  सुकु जस्ता अन्य महिलाहरूले आत्महत्याको बाटो राज्ने गरेको कुँवरले बताइन् ।  ‘अहिले देशका विभिन्न ठाउँहरूमा सुधार केन्द्रहरू खुलेका छन् । त्यहाँ लागुऔषध र मदिराको लतमा लागेका व्यक्तिहरूलाई राखेमा उनीहरू सुर्धन्छन्’ उनी भन्छिन्, ‘जसको कारण उनीहरूले पुर्नजीवन पाउँछन् ।’ उनले लागुऔषधलाई हल्का रुपमा नलिन सबैलाइ आग्रह गरिन् । ‘लागुऔषधमा फसेकालाई बचाउन सकिन्छ भन्ने कुराको जानकारी नुहँदा समस्या भएको छ’ उनी भन्छिन्, ‘लागुऔषधका कारण धनको क्षति र  परिवार विभाजनको सामना गरिरहेका छन् ।’

कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख देवी भट्टराईले गाउँ तथा टोलमा हुने यस्ता खालका घटनाको विषयमा जानकार हुनुपर्ने बताइन् । ‘आफ्ना टोल तथा गाउँमा भएका घटनाहरूको विषयमा बुझ्नुपर्छ’ उनी भन्छिन्, ‘यति काम गरे पनि आत्महत्याका घटनामा कमी ल्याउन सकिन्छ ।’
जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीले दण्डहीनताको अन्त्यको लागि सबै लाग्नुपर्नेमा जोड दिए । उनले सबै आफ्नो क्षेत्रबाट विधि र प्रक्रियाअनुसार अघि बढ्न जरुरी रहेको उनको भनाइ थियो । 


Author

थप समाचार
x