कर्णाली

राजीनामापछि पसिना पुछ्‍दै फर्किए मन्त्रीहरू

लक्ष्मी भण्डारी |
चैत २४, २०७७ मगलवार १५:१० बजे

सुर्खेत : कर्णाली प्रदेश सरकारमा रहेका नेकपा एमालेका तीनजना मन्त्रीले आज (मंगलबार) संयुक्त राजीनामा दिएका छन् ।  वीरेन्द्रनगरमा पत्रकार सम्मेलनगरी राजीनामा दिएको जानकारी गराएका हुन् । आर्थिक मामिला तथा योजना आर्थिक मामिला प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले राजीनामा दिएका हुन् ।

राजीनामापछि तीनैजना मन्त्रीहरू हिडेरै प्रदेशसभा भवनमा आएका हुन् । आर्थिक मामिला तथा योजना मन्त्रालायमा आयोजित पत्रकार सम्मेलनपछि करिब १५ मिनेट जति हिडेर प्रदेशसभा भवनमा आइपुगेका हुन् । 


मन्त्री पदबाट राजिनामा दिएपछि आफुहरूले उपभोग गर्दै आएका सम्पूर्ण सेवा सुविधाहरू छोडिसकेको आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बताए । ‘आजका दिनबाट हामीहरूले प्रयोग गर्दै आएका गाडी र सुरक्षाकर्मीहरु फिर्ता गरेका छौ’ ज्वालाले भने, ‘मन्त्रीबाट राजीनामा दिएकाले कुनै पनि उपभोग गर्दैनौ ।’ राजीनामापछि आफूहरू प्रदेशसभा सांसदको रूपमा रहने उनले बताए । 

संसदीय दलको आइतबार बसेको बैठकले मुख्यमन्त्री शाही नेतृत्वको सरकारमा रहेका तीन मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन दिएको थियो । तीनजना मन्त्रीले पार्टी निर्देशनअनुसार संयुक्तरूपमा राजीनामा घोषणा गरेका हुन् । यसअघि गत चैत ४ गते एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।


Author

थप समाचार
x