कर्णाली

यसकारण कर्णाली प्रदेश सभा अगाडि विधेयक पारित गराउन प्रदर्शन

लक्ष्मी भण्डारी |
असार ३२, २०७९ शनिबार १४:२९ बजे

सुर्खेत- कर्णाली प्रदेश सभा अगाडि विधेयक पारित गराउन शुक्रवार दबाबमूलक प्रदर्शन भयो । प्रदेश सभा सांसद एवं पूर्व मन्त्री नरेश भण्डारीको अगुवाईमा तीन वटा विधेयक पारित गराउनुपर्ने भन्दै उक्त प्रदर्शन भएको थियो ।

सिञ्जा सभ्यता संरक्षण तथा विकास विधेयक, पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक र नव प्रवर्तन अन्वेषण तथा आविस्कार विधेयक अविलम्ब पारित गर्न सांसद र सरकारलाई दबाब दिन खोजिएको छ । यी विधेयकहरु जुम्लाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसद नरेश भण्डारीले दर्ता गरेका हुन् । यीमध्ये दुईवटा विधेयक गैरसरकारी विधेयकका रुपमा सांसद भण्डारीले दर्ता गराएका हुन् भने शिक्षा सम्बन्धी विधेयक सरकार आफैले दर्ता गरेको हो । संसदबाट विधेयक पास गर्नुपर्ने अवस्थामा फिर्ताको प्रस्ताव आएपछि भण्डारीले असन्तुष्टि पोख्दै आएका छन् ।


भण्डारीले संसद बैठकमा पनि गैरसरकारी विधेयकको मृत्यु गराउन खोजिएको प्रतिक्रिया दिएका थिए । कर्णाली प्रदेशसभामा पहिलो पटक गैरसरकारी विधेयक दर्ता गराएका प्रदेश सभा सदस्य भण्डारीले सरकारले शिक्षासम्बन्धी तीन वटा विधेयक तुहाउन खोजेको आरोप लगाएका छन् । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का प्रदेशसभा सदस्य भण्डारीले सरकार आफैले प्रदेशसभामा दर्ता गराएको पर्वतीय विश्वविद्यालय र अन्य दुई वटा गैरसरकारी विधेयक पारित नगर्ने स्थिति देखिएको जनाएका हुन् ।

आफूले दर्ता गराएका गैरसरकारी दुई वटा विधेयक पनि सरकारले अघि बढाउन नचाहेको आरोप उनको छ । भण्डारीले ‘सिञ्जा सभ्यता संरक्षण तथा विकास विधेयक’ र ‘कर्णाली नव-प्रवर्तन, अन्वेषण तथा आविष्कार प्रतिष्ठान विधेयक’ दर्ता गराएका छन् ।

सरकारको मनसाय ती विधेयक पारित नगर्ने देखिएको उनी बताउँछन् । सरकारले विधेयक पारित गर्ने संवैधानिक, कानुनी र प्रक्रियागत मार्ग अवरुद्ध पारिरहेको भन्दै संघर्ष गर्नुपर्ने अवस्था आएको प्रतिक्रिया दिए ।

सांसद भण्डारीले बिहीवार सामाजिक सञ्जाल फेसबुकमा यी विधेयकहरु अविलम्ब पारित गराउन विधेयक ऐक्यबद्धता कार्यक्रममा सहभागी हुन सबैलाई आह्वान पनि गरेका थिए । विधेयक पारित गर्ने प्रक्रिया अघि बढाउन दबाब सिर्जना गर्न विधेयक सरोकार समाज नाम समूहले उक्त कार्यक्रम आयोजना गर्न लागिएको जनाइएको छ । समितिमा पर्याप्त छलफल गरेर परिमार्जन गर्न सकिने स्थिति हुँदाहुँदै ८० प्रतिशत प्रक्रिया पूरा गरेको विधेयक फिर्ताको प्रस्ताव आउनुको अर्थ निस्तेज पार्न खोजिएको भण्डारीको तर्क छ ।

संसदमा गैरसरकारी विधेयक दर्ता गर्नेदेखि सरकारलाई जनजीविका विषयमा जिम्मेवार बनाउन निरन्तर सक्रिय भण्डारी शिक्षासम्बन्धी विधेयक पास गराउने अभियानमा पनि लागेका छन् । विधेयक पास नगर्न सत्तापक्षकै चलखेल भइरहेको उनको गुनासो छ । प्रदेश सरकारको पहिलो पाँच वर्षे कार्यकाल सकिन चार महिना मात्रै बाँकी रहेका बेला प्रदेश सभामा थन्किएका विधेयक पास गराउने कसरत थालिएको छ ।

भण्डारीले निर्माण गरेको सिञ्जा सभ्यतासम्बन्धी विधेयकमा नेपाली भाषाको उद्गमस्थल सिञ्जा क्षेत्रको विकास तथा संरक्षण गर्ने उद्देश्य राखिएको छ । भण्डारीका अनुसार भाषाको संरक्षण तथा सम्बर्द्धन गर्नु यो विधेयकको मूल उद्देश्य रहेको जनाएका छन् । उनले दर्ता गराएको अर्को कर्णाली नव-प्रवर्तन, अन्वेषण तथा आविष्कार प्रतिष्ठान विधेयकले भने कर्णालीमा विश्व प्रख्यात आविष्कारकहरूको विषयमा समावेश गरिएको छ । 


Author

थप समाचार
x