कर्णाली

कर्णाली प्रदेशसभामा चर्किँदै विवाद, सहमति जुट्न सकेन

लक्ष्मी भण्डारी |
साउन ८, २०७९ आइतबार ११:५९ बजे

फाइल तस्बिर

सुर्खेत- पटक-पटक विवादको सामना गर्दै आएको कर्णाली प्रदेशसभामा कार्यकाल सकिन केही महिना मात्र बाँकी रहँदा विवाद चर्किन थालेको छ । लामो समयसम्म प्रतिपक्षले अवरोध गरेको संसद्‌ अन्तिम समयमा आएर सत्ता पक्षले नै विरोध गरेर अवरुद्ध पारेको छ ।

कर्णाली प्रदेशसभामा विगतदेखि नै सत्तापक्षकै सांसदले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने, फ्लोर क्रस गर्नेजस्ता  गतिविधि हुँदै आएका छन् । यसपटक प्रमुख सत्ता साझेदार दलले नै  सरकारप्रति असन्तुष्टि बन्दै आएको छ । कर्णालीमा अहिले तीन दलीय गठबन्धनको सरकार छ । जसमध्ये सरकारको एक प्रमुख घटक नेकपा (माओवादी केन्द्र) आफ्नै सरकारविरुद्ध आन्दोलित बनेको हो ।


कांग्रेस नेतृत्वको कर्णाली सरकारमा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) सामेल छन् । गठबन्धनको मर्मअनुसार सरकार अघि नबढेको भन्दै संसद्‌मा अहिले माओवादी केन्द्रले विरोध जनाएको छ । कांग्रेस नेतृत्वको सरकारसँग असन्तुष्टि राखेपछि स्थगित भएको प्रदेशसभा बैठक पटक-पटक छलफल गर्दा पनि बस्न सकेको छैन ।  सभामुख राजबहादुर शाहीले आह्वान गरेको बुधबारको सर्वदलीय बैठकमा सहमति जुट्न सकेन ।

यता मुख्यमन्त्री जीवनबहादुर शाही सहमतिको प्रयासका लागि जुटिरहेका छन् । मुख्यमन्त्री शाहीले माओवादी केन्द्रका नेताहरूसँग निरन्तर अनौपचारिक छलफलहरू भइरहेको जानकारी दिए । माओवादी केन्द्रले राखेका विषय र माग जायज भएको उनी बताउँछन् । मुख्यमन्त्री शाहीले संसद् अवरुद्ध नभइ सत्तारुढ दलका सांसदहरूको असन्तुष्टि मात्रै रहेको बताउँछन् ।

माओवादी केन्द्रका सांसदहरू भने सहमति भइहाल्नेमा विश्वस्त हुन सकेका छैनन् । उनीहरु आफूले उठाएका विषयको ठोस सम्बोधन नभइ बैठक सञ्चालन हुन नदिने अडानमा देखिन्छन् । विभिन्‍न जनआन्दोलनमा घाइते र अपाङ्गता भएका व्यक्तिको जीवन निर्वाह भत्ताका लागि बनाइएको कार्यक्रम र विनियोजित रकम कार्यान्वयनमा चासो नदिएको जनाइएको छ । आफूहरूलाई सत्ता साझेदार दलजस्तो अनुभुति हुन नसकेको माओवादी केन्द्रका सांसदहरूको भनाइ छ । यता माओवादी केन्द्र संसदीय दलकी प्रमुख सचेतक कृष्णा शाहले छिटै संसद् बैठक बस्नेगरी सहमति जुटाउने प्रयास भइरहेको जानकारी दिइन् । 


Author

थप समाचार
x