कर्णाली

बनाउँदा-बनाउँदै भत्कियाे नाला

तत्काल नाला निर्माण गर्न मुख्यमन्त्री र मन्त्रीकाे निर्देशन

इकागज |
साउन २०, २०७९ २०:४८ बजे

सुर्खेत- वीरेन्द्रनगरमा रहेको निर्माणाधीन नाला भत्किएपछि कर्णालीका मुख्यमन्त्री र मन्त्रीहरुले अनुगमन गरेका छन् । वीरेन्द्रनगर नगरपालिका १२ मा निर्माणाधीन नाला काम नसकिँदै भत्किएपछि चौतर्फी आलोचना बढेसँगै मुख्यमन्त्री जीवनबहादुर शाही र भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री पदमबहादुर रोकायाले अनुगमन गरेका हुन् ।

मुख्यमन्त्री शाही र भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री रोकायाले भत्किएको नाला निरीक्षण गर्दै तत्काल बनाउन निर्देशन दिएका छन् । शुक्रबार दिउँसो नाला निरीक्षणपछि निर्माण कम्पनीलाई यथाशिघ्र गुणस्तर देखिने गरी निर्माण कार्य सम्पन्न गर्न मन्त्रीद्धयले निर्देशन दिएका हुन् ।


साथै नाला भत्किनुको कारण पत्ता लगाई निर्माणका क्रममा भएका कमीकमजोरी गर्ने ठेकेदार र प्राविधिक दुवैलाई आवश्यक कारबाही गर्नुपर्ने स्थानीयको माग छ । नाला निरीक्षणका क्रममा बोल्दै भौतिक पूर्वाधार मन्त्रालयका सचिव प्रेम दत्त भट्टले निर्माण कम्पनीले आफूखुसी काम गरेकाले नाला भत्किन पुगेको तर्क गरे । काम गर्दागर्दै नाला भत्किएपछि निर्माण कम्पनी र सम्बन्धित सरोकारवाला निकाय पूर्वाधार विकास निर्देशनालय सुर्खेतप्रति स्थानीयले आक्रोश पोखेका छन् ।

हटलाइन सडक अन्तर्गत औद्योगिक क्षेत्र टोलदेखि नेवारेसम्म निर्माण हुन लागेको करिब ५ सय मिटर मध्ये ५० मिटर बढी नाला गएको १८ गते ठेकेदार र प्राविधिकको लापरबाहीले भत्किएको हे । तर, अविरल वर्षाका कारण नाला भत्किएको भन्दै निर्माण कम्पनी र सम्बन्धित कार्यालयले मापदण्डमा ध्यान नदिएको पाइएको छ । उक्त नाला भत्किएपछि निर्माण कम्पनी तथा ठेकेदार र सरकारी प्राविधिकप्रति विभिन्न आरोप लगाउँदै आलोचना बढेको छ ।

तर, यता निर्माण कम्पनीका साइड म्यानेजिङ डाइरेक्टर रामलाल नाथ योगीले प्राकृतिक प्रकोपका कारण नाला भत्किए पनि सरकारी प्राविधिकको दबाबमा काम गर्नुपर्दा स्टिमेटभन्दा बाहिर जाँदा नाला भत्किएको स्वीकार गरेका छन् ।

कम्पनीको ढिलाइले नाला निर्माणले तीव्रता पाउन सकेको छैन । मापदण्ड नपुर्‍याएका कारण नालाबीचैमा भत्किएको पूर्वाधार विकास निर्देशनालय सुर्खेतका इन्जिनियर सूर्य शाहीले बताए । नालाको दुवैतर्फ लगाइएको देवाल पनि तोकिएको मापदण्ड अनुसार नभएको अनुगमनका क्रममा देखिएको छ ।

  



Author

थप समाचार
ad
x