कर्णाली

सुर्खेतमा ‘सिजनल फ्लु’का बिरामी बढ्दै

इकागज |
साउन २२, २०७९ आइतबार १८:२३ बजे

सुर्खेत- पछिल्लो समय सुर्खेतका स्वास्थ्य चौकी तथा अस्पतालहरुमा ‘सिजनल फ्लु’का बिरामी बढ्न थालेका छन् । ज्वरो आउने, टाउको दुख्‍ने, जिउ दुख्‍ने, थकाइ लाग्‍ने, घाँटी खसखसाउने वा दुख्‍ने जस्ता समस्या लिएर अस्पताल आउने बिरामीको चाप बढ्दै गएको कर्णाली प्रदेश अस्पताल सुर्खेतले जनाएको छ ।

अहिले दैनिक जसो प्रदेश अस्पतालमा डेढ दुई सयको हाराहारीमा र प्राइवेट क्लिनिकहरूमा यस्तो लक्षण भएका बिरामी उपचारका लागी आउने गरेको स्वास्थ्य संस्थाहरुले जनाएका छन् ।


कोरोना भाइरस जस्तै इन्फ्लुएन्जा भाइरसका विभिन्न प्रजातीहरुले ‘सिजनल फ्लु’ बनाउने कर्णाली प्रदेश अस्पतालमा कार्यरत जनरल फिजिसियन डा. के एन पौडेलले जानकारी दिए । ‘सिजनल फ्लु पनि स्वासप्रश्वासबाट सर्छ,’ पौडेलले भने, ‘एकजना रुघा लागेको व्यक्ति छ भने सँगै बसेको अर्कोलाई यो कोभिड जस्तै सर्छ ।’

सिजनल फ्लुबाट वृद्धवृद्धा, दीर्घरोगी र बालबालिकाहरु बढी प्रभावित भएका छन् । कोरोनासँग मिल्दोजुल्दो लक्षण भएकाले पनि मौसमी रुघाखोकी र कोभिड मध्य के भएको भनेर छुट्याउन नागरिकलाई समस्या भएको छ ।

पछिल्लो केही दिन यता कोरोनाका बिरामीको संख्या पनि दिन प्रतिदिन बढ्दै गएको बताउँदै उनले सतर्कता अपनाउनुपर्ने स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रविन खड्काले सुझाव दिए ।

‘केही दिन यता कोरोनाको संक्रमण हुने दर बढेको छ तर उहाँहरुको अस्पतालमा आइसोलेट हुने अवस्था भने छैन,’ उनले भने, ‘पछिल्ला दिनहरुमा हेलचक्रयाइँ  बढ्दै गएको छ ।’ स्वास्थ्य संस्थामा कोभिडको खोपहरु पर्याप्त भएतापनि नागरिकहरु खोप लगाउन आउन छोडेको उनले बताए । 


Author

थप समाचार
x