कर्णाली

कर्णालीमा बढ्दै कोभिड संक्रमण, नियन्त्रणमा चुनौती

लक्ष्मी भण्डारी |
साउन २३, २०७९ सोमबार १४:२७ बजे

सुर्खेत- केही महिना मत्थर रहेको कोभिड-१९ को संक्रमण फेरि बढ्न थालेको छ । पछिल्ला दिनहरूमा कर्णाली प्रदेशमा पनि संक्रमणदर दैनिक बढ्दै गएकाे स्वास्थ्य निर्देशनालय सुर्खेतले जनाएको छ ।

असारसम्म स्थिर रहेको संक्रमणदर साउन लागेयता ह्वात्तै बढेको निर्देशनालयको विवरणले देखाएको छ । साउनमा मात्र झन्डै एक सय जनामा संक्रमण पुष्टि भएको छ । परीक्षण दर न्यून हुँदा पनि पछिल्लो समय संक्रमणदर बढेपछि नियन्त्रणमा चुनौती देखिएको निर्देशनालयले जनाएको छ ।


अहिले कोभिड संक्रमणदर दैनिक ५० प्रतिशत हाराहारी पुगेको निर्देशनालयका निमित्त निर्देशक डा. रविन खड्काले बताए । आइतबार आठ जनाको परीक्षण गर्दा चार जनामा संक्रमण पुष्टि भएको थियाे । परीक्षण गरिएकामध्ये आधामा संक्रमण देखा पर्ने गरेको खड्काले जिकिर गरे ।

यसरी संक्रमणदर दिनप्रतिदिन उकालो लागिरहँदा सोही अनुसारको नियन्त्रण तथा उपचारका उपायहरू भने अवलम्बन गरिएका छैनन् । ‘पछिल्ला दिनमा संक्रमणदर बढ्दो क्रममा छ,’ निर्देशनालयका निमित्त निर्देशक खड्का भन्छन्, ‘नियन्त्रण तथा व्यवस्थापनका लागि हामीसँग पर्याप्त जनशक्ति नभएर पनि समस्या भएको छ ।’ डोल्पा, मुगु र हुम्लामा विशेषज्ञ चिकित्सक छैनन् भने नर्सिङ तथा पारामेडिक्सहरूको प्रदेशभर नै अभाव छ । कोभिड नियन्त्रणका लागि करार सेवामा स्वास्थ्यकर्मी राख्‍नका लागि बजेट व्यवस्थापन नहुँदा काम गर्न असहज भइरहेको निर्देशनालयले जनाएको छ ।

कर्णालीले अहिले दक्ष तथा विशेषज्ञ जनशक्तिको अभाव झेल्दै आएको छ । दरबन्दी अनुसार जनशक्ति नभएपछि कोभिड महामारीसँग जुध्‍न कठिनाइ भएको हो । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयको तथ्यांक अनुसार प्रदेशभर आठ सय ८७ जना स्वास्थ्यकर्मीको दरबन्दी रहेकामा हाल करिब तीन सय जनाको मात्रै पदपूर्ति भएको छ । एक सय ६३ जना विशेषज्ञ चिकित्सकको दरबन्दी रहेकामा २७ जना कार्यरत छन् ।

करारसहित गरी ९४ जना विशेषज्ञ चिकित्सक कार्यरत रहेको निर्देशनालयले जनाएको छ । कोभिडका जटिल प्रकृतिका बिरामी कमै भएपनि संक्रमण भने तीव्र रूपमा फैलिरहेको छ । बढ्दो संक्रमणदरलाई नियन्त्रण गर्न परीक्षणको दायरा बढाइएको छैन । आवश्यक पूर्वाधार र दक्ष जनशक्तिको कमीका कारण परीक्षण ल्याबहरू सञ्‍चालनमा आउन नसकेका हुन् ।

कोभिड परीक्षणका लागि पीसीआर प्रयोगशाला सञ्‍चालनमा दक्ष जनशक्तिको आवश्यकता पर्छ । त्यस्तो जनशक्ति निकै न्यून रहेको हुँदा संक्रमणको भयावह भएमा नियन्त्रण बाहिर जान सक्ने अनुमान गरिएको छ ।

हाल प्रदेशभर सुर्खेतमा मात्रै पीसीआर परीक्षणको व्यवस्था छ । वीरेन्द्रनगरमा रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट मात्रै पीसीआर विधिबाट कोभिड परीक्षण गर्ने गरिएको निमित्त निर्देशक खड्काले बताए । अन्य ठाउँमा रहेका प्रयोगशालाहरू अहिले सञ्‍चालनमा छैनन् । खड्काका अनुसार प्रयोगशाला सञ्‍चालनका लागि जनशक्तिको अभाव देखिएको छ । परीक्षणको दायरा साँघुरो हुँदा अन्य जिल्लाबाट पीसीआर गर्न सुर्खेत आउनुको विकल्प छैन ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला, स्वास्थ्य कार्यालय दैलेख र रूकुम-पश्चिमको सामुदायिक अस्पतालका प्रयोगशाला लामो समयदेखि बन्द छन् । गत वर्ष कोभिडको तेस्रो लहरसम्म कर्णालीका चार वटै स्थानबाट पीसीआर परीक्षणको व्यवस्था मिलाइएको थियो । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार सिकिस्त बिरामीको उद्धारका लागि आवश्यक स्रोतसाधनको समेत अभाव छ ।

एम्बुलेन्स तथा शव वाहनको उचित प्रबन्ध हुन नसकेको निर्देशनालयले जनाएको छ । अनियमित विद्युतका कारणसमेत स्वास्थ्य उपकरणहरू सञ्‍चालनमा कठिनाइ हुने गरेको छ । 


 


Author

थप समाचार
x