कर्णाली

पढ्न पाए कानुन पढेर आमालाई न्याय दिलाउँछु

लक्ष्मी भण्डारी |
भदौ ७, २०७९ मंगलबार १९:४० बजे

सुर्खेत- आर्थिक विपन्‍नताका कारण पढाई छोड्नुपर्ने अवस्था भएपछि सल्यानकी एक किशोरी सुर्खेत सदरमुकाम आएकी छिन् । सल्यान बनगाड कुपिण्डे नगरपालिकाकी १७ वर्षीया हिराकुमारी सुनार सदरमुकाम सुर्खेतमा आएकी हुन् ।

हिरा एसईई पास भएपछि पढाई सहयोग जुट्ने आशामा सुर्खेतको वीरेन्द्रनगरमा आएको बताउँछिन् । ‘बुवाले दोस्रो विवाह गर्नुभयो आमालाई मात्र घर चलाउन समस्या भयो, वर्षभरि खेतीपाती गरेपनि बल्लबल्ल ६ महिनासम्म मात्र खान पुग्छ,’ हिराले भनिन्, ‘पढाउन नसक्ने भएपछि मैले पढाई छोड्नुपर्ने भयो त्यही भएर कतैबाट सहयोग मिल्छ कि भनेर यहाँ आएकी हुँ ।’ त्यसमाथि बुवा र घरपरिवारका अन्य सदस्यबाट वर्षौसम्म कुटाई सहेकी हिराकी आमा कमजोर छिन् ।


‘घरपरिवारबाट पहिलेदेखि नै कुटपिट गर्दा रहेछन् त्यस कारण आमा शरीर कमजोर भएर काम गर्न नसक्ने अवस्था छ । बिरामी भइरहनुहुन्छ,’ हिरा भन्छिन्, ‘आमा मानसिक रूपमा पनि समस्यामा हुनुहुन्छ ।’

पढाई छोड्नुपर्ने बाध्यता भएपछि हिराले मामाको छोरीलाई समस्या सुनाइन् । उनले पढाई छोड्नुभन्दा सहयोग खोजेर भएपनि पढ्न सल्लाह दिइन् । त्यसपछि उनी सहयोगको खोजीमा वीरेन्द्रनगरमा आइन् । ‘मलाई कानुन पढ्न रहर लागेको छ, कानुन पढेर आमालाई न्याय दिन छ,’ उनी भन्छिन्, ‘कानुनको विषयमा थाहा नभएर आमाले बुवाको अत्याचार चुप लागेर सहनुभयो, आमाजस्ता गाउँमा हिंसा सहने धेरै छन् ।’ यतिसम्मकी आमाले छोराछोरीलाई अप्ठेरो नहोस् भनेरै बहुविवाहको मुद्दा नदिएको हिराले बताइन् ।

मुद्दा नदिएपछि छोराछोरीको पढाईमा सहयोग होला भनेर सहेर बसेपनि बुवाले आफूहरूलाई सहयोग नगरेको उनले दुखेसो पोखिन् ।

कानुन पढेर गाउँमा गएर सेवा गर्ने उनको धोको छ । तर, आर्थिक अभावमा उनी पढाई पूरा गर्न नसकिने हो कि भन्‍ने पिरलोमा छिन् । चार भाइबहिनीमध्ये कान्छी हिराका एउटा दाजु काम खोज्दै भारत गएका छन् भने अर्का दाजु गाउँमा मजदुरी गर्दछन् । दिदीको पनि बीचमै पढाई छोडेर विवाह भयो ।

‘म पनि अहिले पढाई छोडेर घरमा बसे भने विवाह गर्न बाध्य गराउँछन्,’ उनी भन्छिन्, ‘मेरो पढाई नै पूरा भएको छैन अहिले नै बाल विवाह गरे भने त आमाले जस्तै दुःख पाउँछु । त्यही भएर अहिले जसरी भए पनि पढ्नु छ मलाई ।’ आर्थिक अवस्था कमजोर भएका कारण अर्काको घरमा बसेर एसईईसम्मको अध्ययन पूरा गरेकी हिरा आफ्नो नाम अनुसारको काम गरेर देखाउने धोको छ, तर उनको तगारोको रूपमा रहेको छ आर्थिक विपन्‍नता ।

‘एसईईसम्म त मामाको घरमा बसेर पढेँ अब उहाँहरूले पनि पढाउन सक्नुहुन्‍न,’ हिराले भनिन्, ‘पढाईमा कसैले सहयोग गरेमा ठूलो मान्छे बनेर देखाउने धोको छ ।’

अहिले उनलाई वीरेन्द्रनगरमा एउटा कोठा भाडामा लिएर बसेकी छlन् । तत्कालै अधिवक्ता गीता कोइरालाले सहयोग जुटाएर कोठा भाडा र खानाको व्यवस्था गरेकी छन् । तर, हिरालाई पढाई र बस्‍नका लागि खर्च जुटाउन समस्या भएको अधिवक्ता गीता कोइराला बताउँछिन् ।

‘अबको केही दिनको लागि त चामल र कपडा सहयोग गरेका छन्, अब यसपछि कोठामा कसरी बस्‍ने र पढ्ने कसरी समस्या छ,’ कोइरालाले भनिन् ।


Author

थप समाचार
x