कर्णाली

पूर्व मन्त्री ज्वालाको प्रतिनिधिसभामा एकल उम्मेदवारी

लक्ष्मी भण्डारी |
भदौ १५, २०७९ बुधबार १४:१२ बजे

सुर्खेत । सरकारले मंसिर ४ गतेका लागि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति घोषणासँगै यतिबेला राजनीतिक दलहरु उम्मेदवार छनोटमा व्यस्त छन् । अन्य दलहरु आन्तरिक छलफलमै व्यस्त रहेको बेला कर्णालीमा नेकपा एकीकृत समाजवादीले भने उम्मेदवारको टुंगो लगाइसकेको छ ।

नेकपा एकीकृत समाजवादीले जिल्ला जिल्लाबाट उम्मेदवारहरु टुंग्याउंदै छ । प्रदेशका १० वटै जिल्लाहरुबाट टुंगिन लागिसकेको समाजवादीका नेता अम्मर थापाले जानकारी दिए । ‘प्रदेशका सबैजसो जिल्लाबाट नामहरु प्रदेश कमिटीमा आइसकेको छ, एउटा निर्वाचन क्षेत्रबाट तीन÷तीन जनाको दरले नाम लिस्ट मागेका छौ’ थापाले भने, ‘भोलिसम्ममा जिल्लाको सबै फाइनल गर्छाै ।’


पार्टीले प्रतिनिधि सभा र प्रदेश सभाका लागि सल्यानबाट ७ जनाको नाम सिफारिस गरेको छ । प्रतिनिधि सभामा प्रकाश ज्वालाको मात्रै एकल नाम सिफारिस भएको छ भने दुइवटा प्रदेशसभामा ३÷३ जनाको नाम सिफारिस गरिएको हो । प्रतिनिधि सभामाका लागि सिफारिस भएका ज्वाला पार्टीका उपमहासचिव तथा कर्णाली प्रदेश इन्चार्ज समेत हुन् ।

तीन दलको गठबन्धन भएमा ज्वालाले प्रतिनिधि सभाको टिकट जसरी भएपनि ल्याउने लबिङमा लागिरहेका छन् । ज्वाला अघिल्ला तीन वटा निर्वाचनमा पनि सोही जिल्लाबाट सांसद भईसकेका छन् । २०६४ सालको संबिधान सभाको चुनावमा भने माओवादीका उम्मेदवारसंग पराजित भएका थिए । २०७० को निर्वाचनमा नेकपा एमालेको तर्फबाट निर्वाचित ज्वाला प्रतिनिधि सभाको लेखा समितिका सभापति समेत भएका भइसकेका छन् । त्यसैगरी २०७४ को निर्वाचनमा नेकपा एमालेको तर्फबाट सांसद भएका ज्वाला आर्थिक मामिला तथा योजना मन्त्री समेत भएका हुन् । पार्टीभित्र आन्तरिक द्वन्द्व भएपछि संसदमा फ्लोर क्रस गरेका थिए ।

त्यस्तै प्रदेश सभा (क) मा पार्टीका केन्द्रीय सदस्य लोक बहादुर डाँगी, सल्लाहकार सदस्य प्रेमा अधिकारी र प्रदेश कमिटी सदस्य जीवन विसीको नाम सिफारिस भएको छ । प्रदेश सभा (ख) मा केन्द्रीय सदस्य भद्रसिङ बुढा, शारदा परियार र जिल्ला अध्यक्ष हरि केसीको नाम सिफारिस भएको जिल्ला सचिव रमेश कुमार गौतमले बताए । संघमा समानुपातिक सदस्यमा दामोदर शर्मा र शान्ता समालको नाम सिफारिस भएको छ ।


Author

थप समाचार
x