कर्णाली

कर्णालीमा चुनावी रौनक

पार्टी प्रशिक्षण र उम्मेदवार छनोटमा जुटे दलहरु

लक्ष्मी भण्डारी |
भदौ १७, २०७९ शुक्रवार १८:२५ बजे

सुर्खेत । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति घोषणा भएसँगै दलहरु त्यसको तयारीमा जुट्न थालेका छन् । पार्टीको भेला तथा प्रशिक्षण कार्यक्रमहरुलाई तीव्रता दिइएको छ । कतिपय दलहरुले प्रदेशका केही जिल्लाहरुमा उम्मेदवारको टुंगो लगाइसकेका छन् भने उम्मेदवार टुंगो लगाउँदै छन् । 

नेपाली काँग्रेसले हुम्ला र सुर्खेतमा उम्मेदवारको टुंगो लागिसकेको जनाएको छ भने दैलेखमा पनि करिब करिब टुंगो लागिसकेको काँग्रेसका प्रदेश सभापति ललितजंग शाहीले जानकारी दिए । ‘अबको एक दुई दिनमा नै उम्मेदवारको टुंगो लागिसक्ने छ’ सभापति शाहीले भने, ‘सायद भोलि बेलुकासम्म जिल्लाबाट उम्मेदवारको नाम सिफारिस भएर प्रदेश कमिटीमा आइपुग्छ होला ।’ उनले आकाक्षीं धेरै भएकाले पनि उम्मेदवार छनोटमा सकस परेको बताए । 


त्यसैगरी नेकपा एमालेले पनि भोलीदेखि उम्मेदवार छनौटको लागि प्रदेशका सबै जिल्लामा छलफलमा जुट्ने प्रदेश अध्यक्ष विनोदकुमार शाहले जानकारी दिए । ‘हामी भोलिदेखि उम्मेदवार छनौटको लागि छलफलमा जुट्छौ’ शाहले भने, ‘जिल्ला कमिटी, प्रदेश हुँदै केन्द्रीय कमिटीमा छनौटको लागि नामावली पठाउँछौ ।’ 

यता नेकपा माओवादी पनि पार्टीको भेला र प्रशिक्षण कार्यक्रमलाई तीव्रता दिदै आएको छ । आज मात्र पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता शक्ति बस्नेतलगायत सुर्खेतमा प्रशिक्षण कार्यक्रममा सहभागी भए । प्रशिक्षणमा यस प्रदेशमा माओवादीको नेतृत्वमा सरकार गठन हुने गरि अगाडि बढ्न नेता कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । उम्मेदवार छनोटको विषयमा छलफल भइरहेको माओवादी कर्णाली प्रदेश कमिटीले जनाएको छ । 

यस्तै एकीकृत समाजवादीले पनि उम्मेदवार छनौटको काम अन्तिम चरणसम्म पु¥याएको जनाएको छ । ‘हामीले सबै जिल्लाबाट आएका सिफारिसका आधारमा प्रदेशमा छलफल जारी राखेका छौ’ समाजवादीका नेता अम्मरबहादुर थापाले भने, ‘अब प्रदेश कमिटिबाट टुंगो लाग्न बाँकी छ । यसमा छलफल गरिरहेका छौ ।’

यता काँग्रेस उपसभापति पूर्णबहादुर खड्का सुर्खेतको क्षेत्र नम्बर १ र कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही हुम्लाबाट सिफारिस भएका छन् । खड्का प्रतिनिधिसभाका लागि र शाही प्रतिनिधि र प्रदेशसभाका लागि सिफारिस भएका हुन् । शाहीलाई गठबन्धनमा हुनसक्ने टिकट वितरण भागबण्डालाई मध्येनजर गर्दै मुख्यमन्त्री शाहीको प्रतिनिधि सभा र प्रदेश सभा (ख) का लागि एकल नाम सिफारिस गरिएको छ । 
 


Author

थप समाचार
x