कर्णाली

अगाडि बढ्यो भेरी लिफ्ट खानेपानी आयोजना

लक्ष्मी भण्डारी |
भदौ १८, २०७९ शनिवार १७:२१ बजे

फाइल तस्वीर

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको समस्या दीर्घकालीन रुपमा समाधान गर्न अघि सारिएका भेरी लिफ्ट खानेपानी आयोजनाको काम अघि बढ्ने संकेत देखिएको छ । उक्त आयोजना अघि बढाउन वीरेन्द्रनगर नगरपालिका र नेपाल सरकारबीच सम्झौता भएको छ । अघिल्लो साता वीरेन्द्रनगर नगरपालिकाकी नगरप्रमुख मोहनमाया ढकाल (भण्डारी) र खानेपानी तथा ढल निकास विभागका महानिर्देशक रमाकान्त दवाडीले सम्झौता पत्रमा हस्ताक्षर गरिसकेका छन् । 

संघीय खानेपानी मन्त्रालयले विश्व बैंकको ऋण सहयोगमा संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना अन्तर्गत लिफ्टिङ प्रविधिमार्फत भेरीको पानी वीरेन्द्रनगर उपत्यमा ल्याउन लागिएको छ ।


प्रदेश राजधानीमा हुनसक्ने जनसंख्याको चापलाई मध्यनजर गरेर अघि बढाउन लागिएको आयोजनाको कुल लागत ६ अर्ब रुपैयाँ छ । दुई चरणमा सञ्चालन हुने गरी ६ वर्षमा आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले बताइन् ।

पहिलो चरण अन्तर्गत पानी वितरण हुनुको साथै ट्यांकीहरु निर्माणको काम हुनेछ भने दोस्रो तीन वर्षमा योजना पूर्ण रुपमा सञ्चालन हुनेछ । चालु आर्थिक वर्षमा प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाले ‘म्युचुअल फण्ड’ अन्तर्गत ५ करोड विनियोजन गरेको छ भने नगरपालिकाले आयोजनाको स्थलसम्म पहुँचमार्ग विस्तार तथा आवश्यक पूर्वाधार विकासका लागि ५० लाख विनियोजन गरेको छ ।

आयोजनाले भेरी नदीमा तयार गरिने इन्टेकबाट पम्पिङ गरी वीरेन्द्रनगर नगरपालिकाको ११ नम्बरमा रहेको अमृतडाँडामा पानी ल्याउने छ । पहिलो चरणका काम भेरी नदीमा इन्टेक निर्माण, पानी प्रशोधन प्रणाली, रिजर्भ ट्याङ्की निर्माण र अमृतडाँडादेखि वीरेन्द्रनगरसम्मको मुख्य पानी प्रसारण लाइन विस्तार गर्ने लक्ष्य राखेको छ ।
दोस्रो चरणमा उपत्यकामा पर्ने रत्न राजमार्ग र सुर्खेत–जुम्ला सडकको दुवैतर्फ प्रसारण लाइन विस्तार गरिनेछ । भेरीको पानी ४०० मिटर उचाईमा प्रशोधन ट्याङ्कीमा खसालिने छ ।

त्यसपछि करिब ७ किलोमिटर लामो पाइपका माध्यमबाट अमृत डाँडामा निर्माण गरिने रिजर्भ ट्याङ्कीमा पानी खसालिने छ भने ५५० मिलिमिटर क्षमताको पाइप अमृतडाँडामा राखेर मुख्य ट्याङ्कीसम्म ल्याइने छ । अमृत डाँडामा रहने ट्याङ्की १२ हजार घनमिटरको हुनेछ । नगरप्रमुख ढकालले आगामी मंसिरमा हुने निर्वाचन पश्चात टेण्डर आह्वान गरिने बताइन् । काम सरासर अगाडी बढेमा आयोजनाको निर्धारित समय अगावै काम सम्पन्न हुन सक्ने ढकालको भनाई छ । 


 


Author

थप समाचार
x