कर्णाली

होला त पूर्वमन्त्री रावल र मुख्यमन्त्री शाहीबीच प्रतिस्पर्धा ?

लक्ष्मी भण्डारी |
भदौ २०, २०७९ सोमबार १८:५० बजे

सुर्खेत- पूर्वमन्त्री एवं नेकपा एमालेका केन्द्रीय सदस्य दल रावल हुम्लाबाट प्रतिनिधि सभाको निर्वाचनको उम्मेदवारका लागि एकल सिफारिस भएका छन् । एमाले जिल्ला कमिटीको बैठकले रावललाई एकल उम्मेदवार सिफारिस गरेको हो ।

एमाले हुम्लाको सह-इञ्चार्ज समेत रहेका रावलले ०७४ को निर्वाचनमा प्रदेश सभा सांसदमा विजयी प्राप्त गरेका थिए । रावल कर्णालीको पहिलो सामाजिक विकास मन्त्री हुन् ।


एउटा मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको हुम्लामा ०७४ मा स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा ८ हजार ४ सय ९१ मत ल्याएर प्रतिनिधि सभामा निर्वाचित भएका थिए । उनी अहिले माओवादीमै छन् । माओवादीले टिकट नदिए पनि उनी बागी उठेर जितेका थिए । 

यता कांग्रेसबाट भने कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही यसअघि नै एकल उम्मेदवार सिफारिस भएका छन् । शाही प्रतिनिधि सभा र प्रदेश सभा दुवैतर्फ सिफारिस भएकाले उनी कताबाट चुनाव लड्छन् भन्ने कुरा अझै अस्पष्ट छ । सरकारको मुख्यमन्त्री समेत रहेका शाही प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सक्ने वातावरण मिल्ने संकेत भयो भने प्रदेशमा आउने र नभए संघमा जाने सम्भावना पनि देखिन्छ । यद्यपि माओवादी प्रदेश सभातर्फ चित्त बुझएमा रावल र शाहीबीच प्रतिस्पर्धा हुने देखिन्छ ।

ययस्तै एमाले हुम्लाले प्रतिनिधि सभातर्फ समानुपातिकका लागि एमाले प्रदेश अध्यक्ष गोरखबहादुर बोगटी, विमला शाही, पर्वत सुनार, छेपालदोर्जे लामा, रामबहादुर सानो, अजबीर बुढाको नाम सिफारिस गरेको छ । प्रदेश सभातर्फ प्रत्यक्षमा दल फडेरा र पूर्णप्रसाद ढकालको नाम सिफारिस गरिएको छ भने समानुपातिकतर्फ सुरेन्द कार्की, कलबहादुर हमाल, धन्जय परियार, र मन्जु रावलको नाम सिफारिस गरिएको छ ।

यस्तै एमालेले प्रदेश सभा (ख)तर्फ प्रत्यक्षतर्फ छिमिदोर्जे लामा, कमल बोहोरा, डवल रावत, उत्तम लामाको नाम सिफारिस गरेको छ भने समानुपातिकतर्फ रूपा शाही पिछडिएको महिला, प्रकाश सुनार दलिततर्फ, जनजातितर्फ छविचन्द लामा र नोरजाङग तामाङलाई सिफारिस गरिएको छ । 


Author

थप समाचार
x